सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्दै ‘रवीन्द्र मिश्र’

विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् ।

उनी बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेका हुन् । राप्रपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्र वरिष्ठ उपाध्यक्ष बनेर भोलि बुधबार राप्रपामा प्रवेश गर्नेछन् ।

राप्रपा प्रवेश गरेपछि उनको वरीयता के हुन्छ भन्ने खुलाइएको छैन । ‘उहाँ वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ । तर, वरीयताबारे फाइनल भइसकेको छैन,’ श्रेष्ठले भने । यद्यपी वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जनाएको छ ।

‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।’ मिश्र साझा पार्टीका अध्यक्ष तथा विवेकशील नेपाली दलसँग एकीकरणपश्चात् पार्टी संयोजक बनेका थिए ।

स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि संयोजक पदबाट राजीनामा दिँदै साधारण सदस्य बने । साधारण सदस्यबाट पनि उनले केही दिनअघि राजीनामा दिएका थिए । ‘विचारभन्दा माथि देश सिद्धान्त’ भन्दै उनी राजसंस्थाको पक्षमा खुलेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १३:१९