सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टेलिभिजनमा भ्रष्टाचार, संलग्नलाई चेतावनीपछि उन्मुक्ति

नेपाल टेलिभिजनको खरिदमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ । तर, आयोगले मुद्दा नचलाई अबदेखि यस्तो नगर्न भन्दै चेतावनी दिएर उन्मुक्ति दिएको छ ।

टेलिभिजनले गत वर्ष चार करोड रुपैयाँमा ग्राफिक्स सिस्टम खरिद गरेको थियो । करिब एक करोड पर्ने ग्राफिक्सलाई चार करोडमा किनिएको र सेकेण्डह्यान्ड ग्राफिक्स सिष्टम खरिद गरेको भन्दै टेलिभिजनकै कर्मचारीले अख्तियारमा उजुरी दिएका थिए । जसमा आयोगले विस्तृत छानबिन गर्यो ।

छानबिनको क्रममा टेण्डर प्रक्रियामै चलखेल भएको पुष्टि भएको थियो । एउटा मात्र कम्पनीलाई मिल्ने गरी टेण्डर डकुमेन्ट बनाइएको थियो । अर्काेतर्फ ठेकदार कम्पनीले ५–५ लाख भत्तासमेत दिएको विषयमा समेत आयोगले प्रश्न उठाएको छ ।

गत २९ वैशाखमा यस विषयमा आयोगले नेपाल टेलिभिजनलाई पत्र लेख्दै भनेको छ, ‘नेपाल टेलिभिजनबाट भविष्यमा प्रकाशन हुने बोलपत्रहरूमा हवाई टिकटलाई एभ्यालुयसन क्राइटेरियाको दायराभित्र नराखी प्रतिस्पर्धामा समान अवसर प्रदान गर्ने गरी स्पेसिफिकेसन तयार गर्ने व्यवस्था गर्न’ भन्दै सुझाव लेखिएको छ ।

त्यस्तै, स्याटलाइट टेण्डरमा पनि अनियमितता हुन लागेको विषयमा आयोगले हालै छानबिन गरिरहेको छ । टेलिभिजनकै कर्मचारीले यसमा तथ्यसहित आयोगमा उजुरी दिएका छन् । टेण्डरमै हुने चलखेलले सरकारी टेलिभिजन धरासायी हुँदै गएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १२:५६