सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी संगठनकै बदनाम

शेरबहादुर र आरजुको नाममा असुली धन्दा

घुमुवा प्रहरीलाई नै सेन्ट्रीमा राखेर कोहलपुरमा ठूला जुवा सञ्चालन हुने गरेको छ । जसअनुसार दैनिक ४०–५० लाखको जुवा हुने गरेको छ । जसमा प्रहरीले दुई लाख पाउने गर्दछ ।

शक्तिकेन्द्रलाई रिझाएर सरुवा भएका प्रहरी अधिकारीले प्रधानमन्त्री समेतको नाम बेचेर कमाउ अभियान थालेका छन् । चाडपर्वको समयमा त्यस्ता प्रहरी अधिकारीको असुली अभियानमा प्रहरीका हाकिमहरु समेत निरिह देखिएका छन् ।

बाँकेको कोहलपुरमा प्रहरी मिलेमतोमा जुवादेखि नदी दोहन चलिरहेको छ । डिएसपी ऐनबहादुर मल्लले आफु प्रधानमन्त्री पत्नी आरजु देउवाको मान्छे भन्दै असुली अभियान चलाएका छन् । कतिसम्म भने घुमुवा प्रहरीलाई नै सेन्ट्रीमा राखेर कोहलपुरमा ठूला जुवा सञ्चालन हुने गरेको छ ।

जसअनुसार दैनिक ४०–५० लाखको जुवा हुने गरेको छ । जसमा प्रहरीले दुई लाख पाउने गर्दछ । प्रहरीमा सेटिङ भएकाले बुटवलदेखि महेन्द्रनगरसम्मका जुवाडे कोहलपुर पुग्दछन् । उमेशजंग शाही, विपिन शाही, अमृत गिरी, विवेक गिरी तथा माइकल नामक बिचौलियामार्फत जुवामा सेटिङ चलेको हो ।

प्रहरी पैसामा केन्द्रीत हुँदा अपराध भने बढेको छ । जसकारण ८ असोजमा बसेको सर्वपक्षिय बैठकमा दलका अगुवा तथा होटल व्यवसायीहरुले डिएसपी मल्लको आलोचना गरेका छन् । प्रहरी संरक्षणमै अपराध बढेको उनीहरुको आरोप थियो । पछिल्लो समय कोहलपुर ५, कोहलपुर ८ लगायत स्थानमा श्रृङखलाबद्ध चोरी र लुटपाटका घटना भएकोमा प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको छैन ।

लागूऔषध कारोबारीसँग समेत प्रहरी मिलेकाले खुलेआम कारोबार हुन थालेको बताइएको छ । त्यस्तै, नदीमा दोहन बढ्दा प्रहरीका घुमुवाले पैसा उठाएर संरक्षण दिएको स्थानीयको आरोप छ । स्थानीय मानखोलामा बिहान र रातीको समयमा बालुवा तस्करी हुँदै आएको छ । डिएसपी मल्ल पैसा बुझाएर इप्रकामा गएकाले उनी सुरुदेखि नै कमाउ धन्दामा छन् ।

इन्सपेक्टर हुँदा बाँके ट्राफिकको प्रमुख रहेका उनी बढुवालगत्तै कोहलपुरमै पुगेका थिए । जिल्लाका एसपी श्याकृष्ण अधिकारी र उनीबीच पछिल्लो समय असुलीकै कारण विवाद बढेको पनि स्रोत बताउँछ । एसपीको भन्दा आफ्नो ठूलो पावर भएको भन्दै उनले टेर्न छाडेको बताइन्छ । आरजुको मान्छे भन्दै प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायले पनि मल्ललाई कारबाही गर्न सकेका छैनन् ।

उता लुम्बिनीमा प्रधानमन्त्री पत्नी आरजु देउवाको नाममा पैसा असुली हुन थालेको छ । नवलपरासीको बलिनगर, भुजहवा, रुपन्देहीको मझगवा तथा कपिलवस्तुको कृष्णनगर बाट तस्करी मौलाएको हो । शक्तिको आडमा भुझहवा बिओपि पुगेका इन्सपेक्टर रामहरी श्रेष्ठले नेपालबाट हरियो केराउ तथा भारतबाट खाद्यान्न लगायत विभिन्न सामानको तस्करी गराइरहेको श्रोत बताउँछ ।

उनी यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका थिए । प्रधानमन्त्रीकै नाम लिएर उनले लाइन खोलेको स्रोत बाउँछन् । कमाउ अड्डा नपाएपछि काज माथी काज गराएर कृष्णनगर भन्सार पुगेका इन्सपेक्टर जोगेन्द्र केसिको धन्दा पनि फस्टाएको छ । मुख्यालयले शुरुमा उनको बेलौरी बिओपी कञ्चनपुर काज सरुवा गरेको थियो । त्यहाँ कमाइ नहुने भएपछि शक्ति केन्द्रलाई खुशी बनाई फेरि कृष्णनगर काज जान सफल भए ।

पहिले त्यहाँ गुल्म हुँदासमेत बसेका उनीपछि गुल्म खारेज भएर बिओपी भएपछि पनि कमाउ धन्दाका लागि नै डबल काज गराउन सफल भएको स्रोत बताउँछ । उनी यसअघि पनि ५ नम्बर बाहिनीका डिआइजी कुलबहादुर नेम्वाङको उठन्ती धन्दामा खटाइएका थिए । नेम्वाङले प्रत्येक बिओपी बाट मासिक २० हजारका दरले रकम उठाउने गर्थे ।

यता बलिनगर नाकाको अवस्था पनि उस्तै छ । बेश–बिओपी बिना बस्न नसक्ने इन्सपेक्टर सुनिल गिरी पनि तस्करी धन्दाकै लागि काज माथि काज गराएर त्यहाँ जान सफल भएका हुन् । शक्तिकेन्द्रको पावरमा बिओपी पुगेका इन्सपेक्टरहरुलाई लुम्बिनी प्रदेशमा हालै सरुवा भएका डिआइजी बिदुर खड्काले रोक्न सक्छन् सक्दैनन् प्ररिक्षाको विषय छ ।

साभार : दृष्टि न्यूज

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १२:३०