आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ ।
पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन नगरपालिका वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्छन् । ‘अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ,’ फुलसा भन्छिन्, ‘पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।’
ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उनीहरू दशैँमा आश्रममै बस्ने बताउँछन् । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उनीहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेको छ ।
उनीहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर नगरपालिका–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उनी परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुगेका छन् । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् ।
‘छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउँदैनन् बाबु,’ उनी भन्छन् । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन ।
मिस्त्री काम गरेर गुजारा चलाएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुगे । ‘पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ,’ गहँभरि आँशु पार्दै उनले भने, ‘क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे,’ निको नहुञ्जेल घर नजाने उनले बताए ।
आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।’
रासस । तानसेन ।