सूचनाको शक्ति - The Power Of Information

        

खाद्य कम्पनीको लाहपर्वाही

दशैंका बेला गोदाममै थन्कियो चामल, ढुवानीमै समस्या

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगन्जबाट कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लासहित २५ सेक्टरमा खाद्यान्न ढुवानी गर्दै आएको छ ।

फाइल तस्वीर

दशैं लगायतका चाडपर्व भित्रिँदै गर्दा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पहाडी तथा हिमाली जिल्लामा चामल ढुवानी हुन सकेको छैन । समयमै चामल नपुग्दा उत्तरी क्षेत्रका नागरिकले चामल नपाउने निश्चित भएको छ । यातायातको सहज पहुँच नभएको हुम्लामा बढी समस्या छ ।

यहाँ सहुलियत पसल सञ्चालन भए पनि चामल अभाव भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाइन् । आवश्यकताभन्दा कम चामल जिल्लामा मौजदात रहेको उनले बताइन् । ‘मौसम खराबीले यहाँ हवाई उडान हुनै पाएनन् । जसले गर्दा यहाँ खाद्यान्न आउन सकेन,’ उनले भनिन्, ‘दशैंको मुखैमा विमान कम्पनीहरूलाई यात्रु बोक्न ठिकै ।’

हुम्लाको उडान तालिका कम हुँदा पनि समस्या भएको उनी बताउँछिन् । उनका अनुसार हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथमा चामल अभाव हुन्छ । यी उत्तरी क्षेत्रमा पर्ने पालिका हुन् । दक्षिण क्षेत्रमा रथानै बाली भित्र्याउने बेला भएको र ढुवानी हुने क्षेत्र भएकाले त्यति धेरै समस्या नहुने उनको भनाइ छ ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिजालले भने अहिले नै जनताबाट गुनासो आइ नसकेको बताए । ‘चामल अभाव भयो भन्ने गुनासो आएको छैन,’ उनी भन्छन्, ‘खाद्यान्न ढुवानी हुने क्षेत्रमा समस्या हुन्छ । अति विकट क्षेत्रमा बजारको चामल पाइए पनि महँगो हुन्छ । विपन्न वर्गलाई किन्नै गाह्रो हुन्छ ।’

कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, सुदूरपश्चिमका बाजुरा, लुम्बिनीको रुकुम पूर्व लगायतका क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जबाट चामल ढुवानी हुन सकेको छैन । कम्पनीको मुख्य शाखा नेपालगन्जले ढुवानीकर्ता नपाउँदा खाद्यान्न ढुवानीमा समस्या देखिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगन्जबाट कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लासहित २५ सेक्टरमा खाद्यान्न ढुवानी गर्दै आएको छ । कम्पनीको मुख्य शाखा नेपालगन्जका प्रमुख रामशरण लामिछाने नेपालगन्जस्थित कार्यालयले कर्णालीका अधिकांश जिल्लामा बर्सेनि खाद्य ढुवानी गर्दै आएको छ ।

खाद्य संस्थानले जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, दैलेख, रुकुम पश्चिम र कर्णाली प्रदेश राजधानीसमेत रहेको सुर्खेत र लुम्बिनी प्रदेशका भैरहवा, पूर्वी रुकुम र दाङमा खाद्यान्न पुर्याउने काम गर्छ । खाद्य व्यवस्थाले हुम्लामा हवाई र स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्दै आएको छ ।

यसपटक स्थलमार्गबाट सदरमुकाममा एक हजार क्विन्टल, खार्पुनाथ डिपोमा ५०० क्विन्टलको कोटा रहेको उनले बताए । तर, अहिलेसम्म ढुवानी हुन सकेको छैन । ‘अहिलेसम्म गएको छैन । ढुवानीका लागि टेन्डर आह्वान भइसकेको छ । सम्झौता हुन्छ । अनिमात्रै ढुवानी हुन्छ,’ उनले भने ।

टेन्डर आह्वान गर्दासमेत ढुवानीकर्ता नपाइएका कारण समस्या भएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा जुम्लाका लागि दुई हजार क्विन्टल चामल आवश्यक छ । दशैं नजिकिँदै गर्दा जुम्लामा चरम खाद्यान्न अभाव भएपछि पुरानै ढुवानीकर्तामार्फत ६८३ क्विन्टल चामल चलान गरिएको लामिछानेले बताए ।

पुरानै ढुवानीकर्तामार्फत नयाँ आर्थिक वर्षमा स्वीकृत हुने भाडादर उपलब्ध गराउने गरी वैकल्पिक व्यवस्था गरेर पठाइएको हो । बाँकी १४ सय क्विन्टल चामल ढुवानी गर्न ढुवानीकर्ता नै छैनन् । दशैं नजिकिँदै जाँदा खाद्यान्न अभाव हुँदा तत्कालका लागि मुगुमा भर्खरै ३४१ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।

चालु आर्थिक वर्षमा २५ सय क्विन्टल खाद्यान्न आवश्यक छ । मुगुमा खाद्य ढुवानीका लागि खाद्य व्यवस्थाले टेन्डर गर्दा नियम प्रक्रियाअनुसार ढुवानीकर्ता नै आएनन् । बाँकी दुई हजार क्विन्टल खाद्यान्न ढुवानीको टुंगो अझै लागिनसकेको उनले बताए । मुगुमा नेपालगन्जसहित बर्दियाको राजापुर र सुर्खेतबाट समेत खाद्यान्न ढुवानी हुँदै आएको छ ।

कर्णालीमा सबैभन्दा धेरै जाजरकोटमा खाद्यान्न ढुवानी हुने गरेको छ । उनले जाजरकोटमा समेत अहिलेसम्म खाद्यान्न ढुवानी हुन नसकेको बताए । गत वर्षको मौज्दात चामलले अहिले काम चलिरहेको र चालु आर्थिक वर्षका लागि खाद्य ढुवानी गर्न सम्झौताको काम सुरु गरिएको उनले बताए ।

हेड अफिसले समेत जाजरकोटमा सम्झौता गरेर नयाँ आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी गर्न निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार चालु आर्थिक वर्षमा जाजरकोट सदरमुकामका लागि ३२ सय क्विन्टल, दसेरा डिपोका लागि ५०० क्विन्टल, घोगी डिपोका एक हजार क्विन्टल, नायकबाडा डिपोमा ५०० क्विन्टल, जुनीचाँदे डिपोका लागि एक हजार क्विन्टल आवश्यक छ ।

तर, सम्झौता प्रक्रिया नै सुरु नभएका कारण चामल ढुवानी हुन सकेको छैन । कुल एक हजार क्विन्टल आवश्यक रहेको रुकुम पश्चिमको स्यालाखदीका लागि १७० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । दैलेखका लागि अहिलेसम्म टेन्डर नै स्वीकृत भएको छैन । नेपालगन्जस्थित कार्यालय सुर्खेतका लागि तीन हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेछ । अहिलेसम्म सुर्खेतमा १७० क्विन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ ।

उनले भने, ‘त्यहाँ जहिले पनि स्टक हुन्छ । तर, अत्यावश्यक परेको खण्डमा मात्रै पठाउँछौं । अन्यबाट समेत आउँछ ।’ भैरहवामा २५ सय क्विन्टलको कोटा छ । त्यहाँ पनि अहिलेसम्म ढुवानी भएको छैन । रुकुम पूर्वमा खाद्यान्न ढुवानीका लागि टेन्टर आह्वान गरिएको थियो । कोही पनि नआएका कारण समस्या भएको छ । पश्चिम रुकुमको चौरजहारीमा ५०० क्विन्टल खाद्यान्न जान्छ । तीन हजार क्विन्टल खाद्यान्न पुर्याउनुपर्ने भए पनि तुल्सीपुरमा अझै पनि ढुवानी हुन सकेको छैन ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ०८:४३