सूचनाको शक्ति - The Power Of Information

        

खाद्यले भोलिबाट खसीबोका बिक्री गर्दै, मुल्य अनिश्चित

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलि (१२ गते)देखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । तर, प्रतिकिलो कतिमा बिक्री गर्ने भन्ने निश्चित भइसकेको छैन ।

यद्यपि, बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो ५० देखि १०० रुपैयाँ कम कायम गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

‘हामीले बजार मूल्यभन्दा ५० देखि १०० रुपैयाँ सस्तोमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्छाैँ । तर, यतिमै दिने भनेर हामीले निर्धारण गरेका छैनौँ,’ उनले भनिन्, ‘खसीबोका खरिद गरेको मूल्य र ढुवानी खर्च जोडेर के कतिमा दिन सकिन्छ, त्यो मूल्य छलफल गरेर निर्धारण गर्छाैँ । तर, बजार मूल्यभन्दा कम नै हुनेछ ।’

कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडा लगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ । कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले असोज भोलिदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो ।

ती खसीबोका र च्याङ्ग्रा आज काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइने बताइएको छ । कम्पनीले दार्चुलाबाट ५०० च्याङ्ग्रा खरिद गरेर काठमाडौं ल्याउँदै गरेको थापाले जानकारी दिइन् । यो वर्ष च्याङ्ग्रा खरिद नगर्ने भनिएको भए पनि ’शक्ति केन्द्र’को चर्काे दबाबपछि कम्पनीले च्याङ्ग्रा खरिद गरेको हो ।

निजी कम्पनीहरूले च्याङ्ग्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दबाब दिएका थिए । यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसीबोका खरिद गरिएको छ । यी जिल्लाबाट पनि खसीबोका काठमाडौं ल्याइँदैछ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ०८:०८