सूचनाको शक्ति - The Power Of Information

        

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

गत फागुनदेखि कायममुकायम (कामु) को जिम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको थियो ।

महाभियोगकै कारण वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने मौका पाएका हुन् । कार्कीको यही असोज १६ मा उमेर हदका कारण कार्यकाल सकिँदैछ ।

महाभियोगको प्रस्ताव दर्ता नगरिएको भए कार्कीले कामु प्रधानन्यायाधीशको अवसर पाउने थिएनन् । सर्वोच्च अदालतले दसैं सुरु भएपछि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरणका निवेदनमा मात्र सुनुवाइ गर्दैछ । योेसँगै कार्कीको कार्यकाल दसैंबीचमै सकिँदैछ ।

कार्कीपछि न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । सर्वोच्च अदालतमा वरीयताक्रमका आधारमा प्रधानन्यायाधीश हुने व्यवस्था छ । वरिष्ठताका आधारमा सिधै प्रधानन्यायाधीशको सूचीमा रहेका कार्की २०७९ मंसिर २७ सम्म कामु नै भएर काम गर्नुपर्ने बाध्यता छ । किनभने निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल आगामी मंसिर २७ सम्म छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ०७:२७