सूचनाको शक्ति - The Power Of Information

        

सल्यानका ग्रामीण सडक अवरुद्ध, स्ट्रेचरमा बिरामी

वर्षातमा अवरुद्ध बनेका सडक मर्मतसम्भार नहुँदा सल्यानका ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती भोग्दै आइरहेका छन् । नेपालीहरूको ठूलो चाड बडादशैं प्रवेश गरी सक्दासमेत सडक मर्मत नहुँदा बढी मात्रामा बिरामी, महिला तथा वृद्धवृद्धा मारमा परेका छन् ।

थारमारे वडागाउँ रागेचौर चौरजहारी सडकखण्ड अवरुद्ध भएको पाँच महिनाभन्दा बढी भइसक्दासमेत सम्बन्धित निकायले सडक सञ्चालनमा ल्याउन ध्यान नदिँदा कुमाख गाउँपालिका, रुकुम पश्चिम र जाजरकोटका यात्रु हिँड्न बाध्य हुँदै आइरहेका छन् ।

थारमारे, वडागाउँ, रागेचौर चौरजहारी सडकखण्डको वडागाउँदेखि रोगचौरसम्मको करिब १० किलोमिटर सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न अत्यन्त सकस भएको छ । सडक मर्मत नहुँदा सदरमुकाम तथा जिल्लाबाहिर जाउजाउमा समस्या हुने गरेको कुमाख गाउँपालिका–३ रागेचौरका भुवनेश्वर शर्माले बताए ।

सडक बन्द भएको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै पनि निकायले सडक सञ्चालन गर्नतर्फ ध्यान नदिएको उनको भनाई छ । उनले भने, ‘गत वर्षको भन्दा यो वर्ष पानी थोरै परेको छ । गत वर्ष घाम लागेको दिन गाडी चल्थे तर यो वर्ष जेठदेखि वडागाउँसम्म मात्र आउने गरेका छन् ।’

सडक बन्द हुँदा गर्भवती र बिरामी अस्पताल लैजान झनै समस्या भएको अर्का स्थानीय शंकर शर्माले बताए । गाडी नचल्दा गाउँका छिमेकी बिरामी हुँदा दुई पटक स्ट्रेचरमा बोकेर अस्पताल लगेको उनले बताए । उनले भने, ‘नयाँ सडक खन्न ध्यान दिने तर खनेका सडकलाई मर्मतसम्भार स्तरोन्नति गर्न ध्यान नदिँदा समस्या हुने गरेको छ ।’

पटक पटक सडक मर्मत गरे पनि वर्षाको पानीले सबै बगाएर लैजाने भएकाले समस्या भइरहेको कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको भनाई छ । वर्षा रोकिनासाथ सडक मर्मत गरी यातायात सञ्चालनमा आउने उनले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १८:३९