पछिल्लो समय डेंगुको संक्रमण विकराल बन्दै गएको छ । देशैभर डेंगु ज्वरोको बिरामी द्रुतगतिमा बढिरहेका छन् । डेंगु संक्रमणलाई गम्भीर समस्या निम्त्याएको छ । अहिले डेंगुले महामारीकै रुप लिएको छ । लामखुट्टे धेरै पाइने तराई तथा पहाडी क्षेत्रमा डेंगु ज्वरोको बिरामी बढेको बढ्यै छन् । विशेषगरी, जनघनत्व बढी भएका सहरमा सङ्क्रमितको संख्या अकासिएको छ । अस्पताल परिसरमै डेंगुका बिरामी अचेत भइ ढलिरहेका छन् ।
डेंगु देशैभर फैलिसकेको छ । देशका १० जिल्ला डेंगुको उच्च जोखिममा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन डेंगुको उच्च जोखिममा रहेका छन् । डेंगु सङ्क्रमणको कुनै उपचार छैन । संक्रमण भने अत्यास लाग्दो छ । अस्पतालहरू डेंगु ज्वरोको बिरामीले भरिएका छन् ।
यसले कोरोनाको डेल्टा भेरियन्टको झझल्को दिएको छ । उपचार गर्न अस्पताल पुग्नेको संख्या दिन दुई गुणा, रात चौगुणा छ । वार्डदेखि आईसीयूसमेत बिरामीले भरिएको छ । बजारमा सिटामोलको अभाव छ । संघीय राजधानीका अधिकांश फार्मेसीमा सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरूले सिटामोल आउन छाडेको बताउने गरेका छन् । गएका वर्षहरूमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो ।
तर, यो वर्ष असोज नलाग्दै डेंगुको संक्रमण द्रुतगतिमा फैलिसकेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा साउनयता मात्रै डेंगुबाट २५ जनाको मृत्यु भइसकेको छ भने करिब २० हजार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुका बिरामीको मृत्यु हुन थालेको खबर आउन थालेपछि सर्वसाधारण आत्तिन थालेका छन् । डेंगुका विरामीमा मात्र नभइ आफन्तमा समेत सन्त्रास फैलिएको छ । डेंगुको उपचार नहुने भएपछि सर्वसाधारण झनै आतङ्कित बनेका छन् ।
डेंगु भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । तर, डेंगु लागेका मान्छेलाई टोकेको एउटा लामखुट्टेले धेरै जनालाई सार्न सक्दछ । त्यसैले बढी सतर्कता अपनाउनुपर्छ । यो सङ्क्रमणबाट बच्ने एउटै उपाय हो, लामखुट्टेको टोकाइबाट जोगिनु । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । चिकित्सकका अनुसार यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने आदि हुन्छ । कतिपय अवस्थामा रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने लक्षणहरू पनि देखा पर्न सक्छ । स्वाथ्य मन्त्रालयका अनुसार नेपालमा सन् २००४ मा पहिलोपटक डेंगुको बिरामी फेला परेको थियो ।
त्यसयता डेंगुको संक्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगुका बिरामी बढेका थिए । तर, गत दुई वर्षयता भने डेंगु संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । यो वर्ष भने डेंगुले महामारीकै रुपमा लिएको छ । डेंगु संक्रमण विकराल बने पनि यसको नियन्त्रणमा सरकारले खासै चासो देखाएको छैन । सरकारले ठोस कदम चाल्न सकेको छैन ।
डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । हुन त ठूला महामारीमा सरकार गायब हुने पुरानै पराम्परा हो । त्यसको एउटा उदाहरण हो, कोरोना महामारी । नेपालमा कोरोना महामारी सुरु भएपछि सरकारको क्रियाकलाप सम्झिने हो भने काण्डैकाण्ड मात्र छन् । सरकार र राजनीतिक दललाई जनताको चिन्ता लाग्ने भनेको निर्वाचनको बेलामात्रै हो ।
अरुबेला पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी जोगाउने, आफ्ना कार्यकतालाई कसरी पाल्ने, आफ्ना मान्छेलाई ठेक्का कसरी दिने, आफ्नालाई कसरी उच्च ओहोदामा पु¥याउने, भ्रष्टाचारमा मुछिएकालाई कसरी उन्मुक्ति दिने भन्नेमै नेताहरू व्यस्त हुन्छन् । जनताको समस्याबारे सोच्ने फुर्सद हुँदैन । जनता रोग र भोकले मरिहँदा पनि रमिता हेरेर बस्छन ! कोरोना कालमा त्यस्तै देखियो ।
तराईंदेखि हिमाली जिल्लामा समेत डेंगुका विरामी व्यापक रुपमा देखापर्नु र तीमध्ये केहीको ज्यान गइसक्दा समेत सरकारले गम्भीर रुपमा नलिनु चिन्ताको विषय हो । स्थानीय, प्रदेश होस् वा केन्द्र सरकार कसैले डेंगु नियन्त्रणमा खासै चासो दिएको पाइँदैन । सरसफाई, किटनाशक औषधी छर्किने, झूल वितरण लगायतका कामप्रति सरकारी ध्यान जान सकेको छैन । सरकारी अधिकारीको तदारुकता देखाएको छैन ।
सरकार छ तर, सरकारको लागि मात्रै । जनताको दुःखमा सरकारले अभिभावकत्व निभाउन सकेको छैन । विचौलिया, माफियासँग हिमचिम बढाउनमै व्यस्त राजनीतिक नेतृत्व र शासकलाई जनताका समस्या समाधान गर्न फुर्सद कहाँ हुन्छ र ? मुख्यतः डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेबाट जोगिन शरीर पूरै ढाक्ने लुगा लगाउनुपर्छ, यसले नटोक्ने स्प्रे छर्कनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।
सुत्दा झुलको प्रयोग गर्नुपर्छ । साथै, लामखुट्टेको वृद्धि रोक्नुपर्छ । लामखुट्टेको वृद्धि रोक्न पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । साथै, घरका झ्याल ढोकामा जाली लगाउनुपर्छ । अहिले नै यसको नियन्त्रण गर्न नसके आगामी वर्ष संक्रमण अझ भयावह हुनसक्छ ।
लामखुट्टेको फुल १० महिनासम्म बाँच्न सक्ने जानकारहरू बताउँछन् । यसपटक नष्ट नभएका फुल पुनः अर्को वर्ष पानी पर्नासाथ लामखुट्टे बन्न सक्छ । र, फेरि डेंगु फैलिने सम्भावना हुन्छ । त्यस्तै सरकारले सिटामोलको अभाव हटाउन ठोस पहल गर्नुपर्छ । तीनै तहका सरकारले डेंगु रोकथाम र नियन्त्रणलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । यसको परीक्षणलाई तिव्रता दिनुपर्छ, सहज बनाउनुपर्छ । सकेसम्म सरकारले डेंगु परीक्षणलाई निःशुल्क गर्नुपर्छ ।
त्यो गर्न नसके पनि मनपरि शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्न सक्नुपर्छ । परीक्षणको लागि निश्चित शुल्क तोकिनुपर्छ । साथै, यसका लागि नागरिक पनि सचेत र सतर्क हुनुपर्छ । सरकार र जनता सक्रिय भएमा मात्रै डेंगु नियन्त्रणमा आउन सक्छ । नत्र अवस्था अझ भयावह हुनसक्छ । त्यसैले संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्बन्धित सबै जिम्मेवार बन्नुपर्छ ।
नवीन राई ।