सूचनाको शक्ति - The Power Of Information

        

मनास्लु हिमपहिरोमा १२ जना घाइते, तीन जनाको अवस्था गम्भीर

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीन वटा हेलिकोप्टर पठाइएको छ ।

यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए ।

गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् ।

सेभेन समिट ट्रेक लगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लु सहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका ५०६ जनाले आरोहण अनुमति लिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १६:००