सूचनाको शक्ति - The Power Of Information

        

७६ जिल्लामा फैलियो डेंगु, नियन्त्रणमा सरकार उदासीन

सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छन् ।

यस्तै, प्रदेश नं. १ मा ७६३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २८७८, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ डेंगु संक्रमित भटिएको मन्त्रालयले जनाएको छ ।

डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले नै आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १३:५८