बाँके र बर्दियामा जनता आवास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष २०७९–०८० मा ६८० घर निर्माण गरिने भएको छ ।
लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले बाँकेमा ३४७ र बर्दियामा २८४ नयाँ घर निर्माण गरिने जानकारी दिएको छ ।
बाँके र बर्दियामा लक्षित दलित तथा विपन्न समुदायका लागि घर निर्माण गर्न प्रक्रिया सुरु गरिएको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका निमित्त प्रमुख रामआश्रय शाहले जानकारी दिए ।
विपन्न घर निर्माण गर्ने परिवारको छनोटका लागि सम्बद्ध प्रदेशको निर्वाचित प्रदेश सांसदको नेतृत्वमा समिति रहने व्यवस्था छ । ‘लक्षित समुदायको घर निर्माणका लागि निवेदन माग गरेका छौँ,’ निमित्त प्रमुख शाहले भने ।
उनले कार्यक्रम अन्तरगत पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । पहिलो चरणमा बाँके र बर्दियामा तीन हजार १०० घर निर्माण गर्ने कार्यक्रम रहेकोमा हालसम्म दुई हजार ८४७ घर निर्माणका लागि कायम भइसकेका छन् ।
तीमध्ये दुई हजार १४४ घर निर्माण भई हस्तान्तरण गरिएको छ । ७०३ घर निर्माणका लागि कार्यान्वयनका क्रममा छन् भने २५३ घर मात्रै निर्माण गर्नुपर्नेछ । प्रदेश सरकारको २०७५ मङ्सिर १८ देखि यो कार्यक्रम सुरु भएको हो ।
यसअघि सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि भइपरिसहित तीन लाख ५० हजार रुपयाँ पाउने निमित्त प्रमुख शाहले जानकारी दिएका छन् ।
अहिलेको मूल्यवृद्धिको अवस्थामा एक परिवारलाई बस्नका लागि तीन लाख ५० हजार एकदमै न्यून रकम भएको सम्बद्ध व्यक्तिहरूले गुनासो गर्ने गरेको सहरी विकास तथा भवन कार्यालयका कर्मचारीहरूले जनाएका छन् ।
सत्यपाटी । बाँके ।