सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति

नवरात्र सुरु भएसँगै नेपालीका घर–घरमा बज्दैछ ‘मालश्री धुन’

मालश्री धुन, माल अर्थात् बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्री सम्पत्ति, धनधान्य आदि बुझिन्छ । शरद ऋतुको शुरुवातसँगै आउने चाड दशैं अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरु, स्याउका दानाहरु, फूलहरु, सुन्तलाका दानाहरु लगायतका आगमनको खुशी पनि हो, माल श्री धुन ।

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेरका छन् । घरको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ ।

नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेय लगायत पुराण आदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

के हो मालश्री धुन ?

दशैं आयो, अब क्रमश टीभी, रेडियो लगायतमा मालश्री धुनको लगातार प्रयोग गरिन्छ । मगंल धुन पनि भनिने यो धुनलाई नेपाली परिपेक्ष्यमा दशैं अनि तिहारको पेरिफेरिमा बजाइन्छ, प्रयोग गरिन्छ । यस धुन अनि यसको हार्दिकताले नेपाली श्रोता र दर्शकहरुलाई चाडपर्वको एउटा उत्साह गज्जबले सञ्चार गर्दछ । नेपाली जीवनशैलीमा संगीतको महत्व हरेक चाड अनि परिपेक्ष्यमा फरक फरक प्रकार अनि प्रकृतिका आधारमा छन् ।

ठाउँ अनुसार बाजागाजा र बजाउने लय पनि फरक फरक छन् । आज भनें दशै केन्द्रित भएर मालश्री धुनको महत्वलाई नारीशक्ति, उव्जनी, सत्यता अदि बिभिन्न पक्षहरुसँग उत्खनन गर्न जाँदैछौं । मालश्री धुन, माल अर्थात् बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पती, धनधान्य आदि बुझिन्छ । कृषि प्रधान नेपाली समाजमा शरद ऋतुको शुरुवातसँगै आउने चाड दशैं अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरु, स्याउका दानाहरु, फूलहरु, सुन्तलाका दानाहरु लगायतका आगमनको खुशी पनि हो, माल श्री धुन ।

कृषि प्रधान नेपाली समाजमा प्रकति नै सबैभन्दा ठूलो सम्पति हो । यस अर्थमा मालश्री धुनलाई केवल दशैंसँग मात्र नजोडि सम्पूर्ण शरदको शुरुवातका रुपमा लिन जरुरी देखिन्छ । हरेक ऋतुका लागि बिशेष धुन हुने र शरद ऋतुको कौशलताका लागि मालश्री एउटा धुन भएको भनेंर बुझ्न सकिन्छ । यस संगीतलाई चिउरा कुट्दादेखि चामल कुट्दासम्म, ढिकी जातो गर्दादेखि टीकाटालो गर्दासम्मको भावना र अभिव्यक्तिसँग जोडिएको मान्न सकिन्छ ।

परम्परागत नेवारी रितीथितीको बयान अनि सांगितिक लिपीका रुपमा मालश्री अझ खरो उत्रिएको हुन्छिन्, मालश्रीको गुञ्जनसँगै समस्त नेपाल नै दशैंको रंगमा पुलकीत हुने गर्दछ । अहिले आएर हातहात मा मोवाइल, गीत, स्पीकर भएको भएर मालश्रीको सहज उपलव्धता भएजस्तो भान हुन्छ, परम्परागत समाजमा प्रत्यक्ष बाजागाजा अनि थिती मिलाएर सामुहिक रुपमा बजाइने मगंलधुन बास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मंगल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको हृदयमा बस्न सफल छ ।

सनातन नेपाली संस्कार जहाँ बिहान शंखको ध्वनी र मन्दिरको घण्ट आवाजसँगै शुरु हुन्छ अनि साँझको आरती अर्चना र रातीको फेरि लगाउने जोगीको फेरि संगीतमा समापन हुन्छ । देवी मन्दिरमा बज्ने मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ । यहाँ दशैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ । यहाँको मालश्रीमा मुख्य तालबाजा ढोलकी बजाइँदैन । त्यसको सट्टा ‘नगरा’ दुन्दुभी बजाउने गरिन्छ । झ्याम्टा, मादल, सारंगी, ढोल, मुरली लगायत थुप्रै बाजाहरु मालश्री मा बजाइन्छन् तथापि सारंगी र मुरलीलाई मालश्रीको ज्यानका रुपमा लिइन्छ ।

सुनौं ‘मालश्री धुन’

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १२:३३