सूचनाको शक्ति - The Power Of Information

        

सरकारी बेवास्ता

बाँकेमा आधा दर्जन खानेपानी आयोजना अलपत्र

बाँकेका करिब १५ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी खाइरहेका छन् ।

बाँकेमा आधा दर्जन खानेपानीका आयोजना अलपत्र अवस्थामा छन् । आर्थिक बर्ष २०६३–०६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अझै पनि अलपत्र अवस्थामा छन् ।

बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिको चासो नदेखिनु लगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा रहेको सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

कार्यालय प्रमुख तिलक न्यौपानेका अनुसार बाँकेका करिब १५ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी खाइरहेको जनाउँदै निर्माणाधीन सबै आयोजनाको काम पूरा भएमा ८५ प्रतिशत नागरिकले पाइप प्रणालीको पानी खान पाउनेछन् ।

खानेपानी डिभिजन कार्यालयका अनुसार २०६३–०६४ सालदेखि निर्माण सुरु भएको नेपालगन्ज १६ जयसपुरमा रहेको खानेपानी आयोजनाको सुर्खेतरोड विस्तारका क्रममा सडकमा रहेको पाइपलाइन काटिएपछि अलपत्र परेको छ ।

त्यस्तै हवल्दारपुर नजिकै रहेको शमशेरगन्ज खानेपानी आयोजना, राधापुर खानेपानी योजना लगायतका आयोजना हाल अलपत्र अवस्थामा छन् । ती सबै आयोजना सञ्चालनका लागि डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रमुख न्यौपानेले बताए ।

सरकारले ठूलो रकम खर्च गरेर निर्माण सुरु गरेका आयोजना बीचमै अलपत्र पर्दा यहाँ खर्चिएको बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ । डेढ दशकसम्म पनि आयोजना निर्माण सम्पन्न नहुँदा पानीका ट्याङ्कीहरू चुहिने, पुनः मर्मत गर्नुपर्ने लगायतका समस्या देखिने गरेको छ ।

धेरै योजना त रकम अभाव र दबाबका कारण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । ‘बर्सेनि बजेट घट्दो छ तर माग बढ्दो छ । गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ,’ डिभिजन प्रमुख न्यौपानेले भने, ‘आवश्यक बजेट नआउँदा १०–१२ वर्षदेखिका आयोजना अलपत्र परेका छन् ।’

उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन छन् । यी आयोजनामध्ये चार–पाँचवटा आयोजना मात्र आंशिक रूपमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । चालू आवमा कम्तीमा ८–१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रमुख न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १०:५४