सूचनाको शक्ति - The Power Of Information

        

संविधान पालना गर्न राष्ट्रपतिको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने प्रस्ताव राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेकी छन्।

संविधानको धारा ८१ सम्झाउँदै राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र संसद्मा पठाउने विधेयकहरूको जानकारी गराउन पत्राचार गरेकी हुन्। दुईपटक संघीय संसद्बाट पारित भएर शीतल निवास आएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी भण्डारीले सरकारलाई पत्र लेखेकी हुन् ।

संसद्को दुवै सदनमा पारित भएर आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेकी राष्ट्रपति भण्डारीले असोज ५ गते प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयलाई पत्राचार गर्दै संविधानको पालना सरकारबाटै उल्लंघन भएको संकेत गरेकी हुन्।

‘संविधानको उल्लंघन सरकारबाटै भएको छ। नागरिकता विधेयक संंसद्मा जानुअघि प्रधानमन्त्रीलाई बोलाएर राष्ट्रपतिज्यूले जानकारी लिनुभएको थियो।

त्यसबेला पनि प्रधानमन्त्रीलाई संविधानको धारा ८१ बारे सम्झाउनुभएको थियो तर पटकपटक यो विषयलाई सरकारले पालना गरेको देखिएन। त्यसकारण संविधान उल्लंघन सरकारबाटै भएका कारण पत्रचार गर्नुपरेको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

नागरिकता विधेयक प्रमाणीकरण नभएकोबारे उपराष्ट्रपति र प्रधानमन्त्रीले वक्तव्यबाजी गरेका बेला राष्ट्रपतिले सो विषयमा पत्राचार गर्नुले सरकार–राष्ट्रपति ‘टसल’ झनै बढ्ने देखिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०७:५४