सूचनाको शक्ति - The Power Of Information

        

यस वर्षदेखि नेपालगञ्जमा पुनः रामलीला मञ्चन गरिने

प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने रामलीला यस वर्ष हुने भएको छ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो ।

रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेको हो । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि सार्वजनिक रुपमा नमनाइए पनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजापाठ गरि मनाइने गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१३ बाँकेगाउँ स्थित रामलीला मैदानमा सोमबार साँझदेखि रामलीला मञ्चन गरिन लागिएको छ । रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदैछ । रामलीलाको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आइपुगेको छ ।

मण्डल सञ्चालक श्री राधारमण शर्मा नेतृत्वको २१ कलाकार टोलीले भगबान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्नेछ । रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने आयोजकले जनाएको छ ।

रामलीला मञ्चनका लागि मञ्च व्यवस्थापन लगायत सबै तयारी पुरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडीयाले जानकारी दिए ।

रामलीला मञ्चन अवलोकनका लागि सपरिवार उपस्थित भईदिन पनि अध्यक्ष कनोडीयाले सबैमा हार्दिक अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार १८:३८