सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्वमा व्यवसायीका दुख

भारतीय बजार जाने ग्राहकलाई सीमामै नेपाली व्यवसायीको अवरोध

दशैंंको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला बाँकेका व्यापारी चिन्तामा छन् ।

दशैं तिहारको चाडपर्वको मुखमा सीमा पारी गएर नेपाली उपभोक्ताले किनमेल गर्न थालेपछि व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाका पुगेका हुन् ।

चाडपर्व नजिकै आइपुगे पनि नेपालगन्जमा खासै व्यवसाय नभएपछि नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीहरू जमुनाहा नाकामै पुगेर नेपाली उपभोक्तासँग उताबाट खरिदारी नगर्न आग्रह गरेको सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए ।

सिमापारि जानेको भीड बढिरहेको बेला नेपालगन्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमै सामान खरिद गर्न आग्रह गरेका छन् । व्यापारीहरूले शनिवार नाकामा पुगेर ‘स्वदेशमै सामान खरिद गरौँ’ भन्ने पर्चा वितरण गरे ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् । बैङ्कको चर्को ब्याजदर वृद्धि र कारोबारको २०–२५ प्रतिशत मात्र लगानी गर्ने नेपाल राष्ट्र बैङ्कको पछिल्लो नीतिको सङ्घले विरोध गरिरहेको छ ।

सङ्घले शुक्रवार राष्ट्र बैङ्क अगाडि धर्ना दिएको थियो । सङ्घका अध्यक्ष मन्सुरीले सीमावारि नै बजार बढाउन स्वदेशमै किनमेल गर्न अनुरोध गरे । उनले स्वदेशमै किनमेल गर्दा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसो त नेपालगन्जका व्यवसायी उपभोक्तामैत्री हुन सकेको देखिँदैन । यहाँको बजार उपभोक्तामैत्री हुनै नसकेका कारण बाँके, बर्दिया लगायत आसपासका जिल्लाका उपभोक्ता सामान्य घरायसी सामान खरिदका लागि पनि रुपैडिया बजार जाने गरेका छन् ।

यतिबेला दशै नजिकिँदैछ, नेपालगन्ज बजार सुनसान देखिएको छ । रुपैडियामा उपभोक्ताको भीडले बाटो काट्नै समस्या हुने गरेको देखिएको छ । नेपालगन्जमा ५०० पर्ने सामान रुपैडियामा २००– ३०० सयमा उपभोक्ता खरिद गर्दै आएको बताउँछन् ।

नेपालगन्ज बजारका व्यवसायी जमुनाह बन्द हुने वित्तिकै लुटतन्त्रको दाउमा लाग्ने गरेको उपभोक्ताको गुनासो छ । यसैले यतिबेला रुपैडियामा नेपाली उपभोक्ताको भीड बढेसँगै नेपालगन्जका व्यवसायीको निदहराम भएको छ ।

चाडपर्वका समयमा रुपैडियामा एकैदिन करोडौंको व्यापार हुन थालेको रुपैडियाका व्यवसायी बताउँछन् । रुपैडिया बजारमा किनमेल गर्ने नेपालीको भीड छ । नेपालगन्ज र कोहलपुरका पसलहरुमा भने छिटपुट मात्रामा ग्राहक भेटिने गरेका छन् ।

खुला सिमाना र भारतीय बजारसँग नेपाली व्यापारीले प्रतिस्पर्धा गर्न नसक्दा वर्षेनी नेपाली व्यापारी मारमा छन् । दशैंंको किनमेल गर्न भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला बाँकेका व्यापारी चिन्तामा छन् ।

खासगरी चामल, तेल, चिनी, दाल, फलफूल, पेयपदार्थ, लगायतका सामग्री खरीदका लागि नेपाली उपभोक्ता रुपैडिहा पुग्छन् । बाँकेका ग्रामीण क्षेत्र र सुर्खेत, दैलेख, जाजरकोट, दाङ लगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार जाने गरेका छन् ।

भारतीयभन्दा पनि नेपाली उपभोक्ताकै कारण रुपैडिहा बजार चलेको छ । रुपैडिहामा नेपाली उपभोक्ताको करिब ७० प्रतिशत सहभागिता हुने गरेको छ । नेपाली बजारमा सामानको फरक–फरक मूल्य र महंगीले धेरै सर्वसाधारण भारतीय बजारमा जाने गरेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ११:३३