सूचनाको शक्ति - The Power Of Information

        

नमूना विद्यालयको नमूना काम

कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ जनज्योतिका विद्यार्थी

विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलम मात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन जान पनि सिकाएको छ ।

कैलाली अत्तरियाका युवराज आचार्य तीन वर्षे भेटेनरी जेटिए पढिरहेका छन् । एसईई पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका आचार्य अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अहिले तीन वर्षे भेटेनरी जेटिए पढिरहेका छन् ।

पढाई सँगैसँगै आचार्यले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयले दिएको ऋणले १२ वटा बंगुर र १५० वटा बट्टाइपालन गरिरहेका छन् । आचार्यसहित ६ जना विद्यार्थीले बंगुर र बटाइबाटै विद्यालयको शुल्क र ऋण तिरिरहेका छन् । ‘स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ,’ आचार्य भन्छन्, ‘पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।’

उनका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन । विद्यालय छोड्ने बेलासम्म साँवा रकम मात्रै तिरे पुग्ने आचार्यले बताए । सोही विद्यालयमा तीन वर्षे भेटनरी जेटिए अध्ययन गरिरहेका सुर्खेतकै दिपक शाही विद्यालयको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बट्टाइको चल्ला ह्याचरी सञ्चालन गर्छन् ।

यसबाट उनले आफ्नो पढाई खर्चसँगै घरपरिवारलाई समेत खर्च पठाउने गरेका छन् । अहिले उनलाई विभिन्न ठाउँबाट ४ हजार २०० चल्लाको माग आएको छ । दिपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उनका आमा बुवालाई कृषि गर्नका लागि बैंकले समेत सहुलियतमा १० लाख ऋण दियो ।

सैद्धान्तिकसँगै प्रयोगात्मक गर्दा बुझ्न सहजता हुनुको साथ पढाई समेत प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ । विद्यालयले तीन वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् ।

‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले बताए । ‘विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो,’ प्रधानाध्यापक सिग्देलले भने, ‘उनीहरूलाई समूह वा व्यक्तिगत रूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौं ।’

विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरिनरी र कृषितर्फ १८ महिने र तीन वर्षे कक्षा सञ्चालन भइरहेको छ । विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् ।

विद्यार्थीलाई ५ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म ऋण दिइरहेको प्रधानाध्यापक सिग्देलले बताए । ‘विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौं,’ उनले भने, ‘यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्छ ।’ धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ्ग प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौं ।’

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले ५ हजार रुपैयाँ धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण दिन्छ । कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले रु. ५० लाख उपलब्ध गराएको छ । उक्त रकमबाट रु. ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० वटा बंगुर र २० वटा माउ बाख्रा अट्ने खोर बनाएको छ ।

प्रधानाध्यापक सिग्देलका अनुसार रु.३० लाख रुपैयाँमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकता अनुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षा अन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै विद्यालयको आफ्नै संरचना छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि प्रधानाध्यापक सिग्देलले बताउँछन् ।

उनका अनुसार भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बंगुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् भने तरकारी र च्याऊ लगायत खेती पनि गरिरहेका छन् । विद्यालयले सञ्चालन गरेको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलम मात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन जान पनि सिकाएको छ ।

कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन सेवा केन्द्रमा जम्मा गर्छन् । कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क संकलन गर्छन् । विद्यालयले बजारमा वस्तुहरू बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ ।

विद्यालयका प्रधानाध्यापक सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ । विद्यालयले तीन कक्षामुनीका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तरक्रिया गर्छ भने चारदेखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय पढाइन्छ ।

जनज्योतिले ल्याएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रमलाई नेपाल सरकारले गत बर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी यसलाई कार्यान्वयनमा ल्याएको हो । तर, जनज्योतिले त्यसअघि नै कार्यान्वनमा ल्याइसकेको थियो । विद्यालयमा २५० जना विद्यार्थी १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दैछन् । यस वर्ष १६० जना भर्ना हुँदैछन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रदेश सरकारले समेत सहयोग गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेश सरकारले विद्यालयलाई ५० लाख रूपैयाँ दिएको थियो । सोही रकमबाट विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रीत गर्यो । देशका विभिन्न ठाउँबाट कृषि अध्ययन गर्नेहरू जनज्योतिमा अवलोकनका लागि आउने गर्छन् भने पैसा नभएर पढ्न नसकेका विद्यार्थीहरूले पनि पढ्न पाइरहेका छन् ।

अहिले विद्यालयले जंगलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम समेत दिन थालिएको छ । विभिन्न व्यक्ति र संघ संस्थाहरूको सहयोगमा विद्यालयले विद्यार्थीलाई यो सीप सिकाएको हो । अहिले विदेशबाट समेत नौं लाख झोला र टोपीको माग आएको छ । त्यही परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको छ ।

त्योसँगै विद्यालयले चुरापोते, चप्पल लगायतका सीपमूलक तालिमहरू सञ्चालनमा ल्याएको विद्यालयका प्रध्यानाध्यापक सिग्देल बताउँछन् । ‘सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्वपूर्ण शिक्षा हो,’ उनले भने, ‘अहिले हाम्रा विद्यार्थीहरू पढ्दै कमाउँदै छन्, जसबाट समुदायको पनि विकास भएको छ ।’

अहिले विद्यालयमा अध्ययनरत १ हजार २९७ जना विद्यार्थीहरू कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन् । कुनाथरी गाउँका प्रत्येक कुना–कुनामा लोकल कुखुराका चल्ला वितरण गर्ने र मौरीपालनको तालिम चलाएर गाउँलाई नै मौरी हबको रूपमा विकास गर्ने विद्यालयको योजना छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ०८:१३