सूचनाको शक्ति - The Power Of Information

        

सीमापारि दशैँको रौनक, वारि सुनसान

दशैँ जति नजिकिँदैछ किनमेल पनि त्यति बढ्दैछ । व्यापार चम्कँदैछ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्यसरह छन् ।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडी लगायतका मुख्य बजारमा दशैँको कुनै रौनक छैन ।

दशैँलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर ।

सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ । दशैँका लागि अत्यावश्यक वस्तुदेखि विलासिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् ।

यसपालिको दशैँमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो । मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउँछन् ।

सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनीषा भाटले बताए । ‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दशैँ खर्चिलो छ, बचत त गर्नै पर्यो,’ ‘इमिलियाबाट बढनी किनमेलका लागि गएकी भाटले भने ।

खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ । जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ ।

भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बसेकी सीता घिमिरेले बताइन् । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उनी बताउँछिन् ।

कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमा नाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुको भन्सार नतिर्दा राज्यलाई समेत लाखौँ राजस्व घाटा लाग्ने गरेको छ ।

कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए । ‘नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्,’ उनी भन्छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ०७:५४