सूचनाको शक्ति - The Power Of Information

        

फेरियो अल्पसंख्यक सुनाहा जातिको जीवनशैली

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन । महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देखे न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ ।

महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ । अल्पसंख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वडा नं. १२ र १३ मा ७५ परिवार अल्पसङ्ख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताए । ‘अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौँ । अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ,’ उनले भने । उनले सुनाहा जाति अल्पसङ्ख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताए ।

‘आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ,’ उनले भने, ‘हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।’ उनले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसंख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गरे ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताए । ‘उतिबेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे,’ उनले भने, ‘त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन ।’ उनले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताए ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्छन । उनले पुख्र्याैली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताए । ‘हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ । अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ’, उनले भने । उनले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १७:०८