सूचनाको शक्ति - The Power Of Information

        

मटेहिया र गंगापुरलाई दूध उत्पादन पकेट क्षेत्र घोषणा गर्न माग

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको दुई वटा वडाका अधिकांश किसानले व्यवसायीक पशुपालन गरिरहेका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ का किसानले गरेको पशुपालनबाट यी दुई वडामा मात्रै करिब एक हजार लिटर दूध दैनिक उत्पादन हुन्छ ।

तर, किसानले परम्परागत तरिकाले मात्रै दूध उत्पादन गर्दै आएकोले उनीहरुलाई बजारदेखि अन्य सहयोगको खाँचो रहेकोले सरकारले यी दुई वडालाई दूध पकेट क्षेत्र घोषणा गर्न उनीहरुले माग गरेका छन् ।

दूध उत्पादन र बिक्रीका लागि राज्यबाट कुनै अनुदान र सुविधा नपाएको गुनासो गर्दै परम्परागत तरिकाले पशुपालन गर्दै आएका किसानलाई तालिम तथा अनुदान दिएर व्यवस्थित बनाउन आवश्यक रहेको मटेहियाका किसान हरिदास यादवले बताए ।

उनले वडा नम्बर ५ र ६ का घर–घरमा ठूलो संख्यामा गाई, भैंसी पालेर दैनिक हजार लिटरजति दूध उत्पादन गरे पनि राज्यको नजर पुग्न नसकेको गुनासो गरे । उनले पुरानै विधिबाट पशुपालन गर्दा मेहनत अनुसार आम्दानी गर्न नसकेको बताए ।

मटेहिया र गंगापुरका किसानले वडा कार्यालयमा पशु स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका छन् । पशु स्वास्थ्यकर्मी नहुँदा सामान्य रोगको औषधि किन्न र उपचार गराउन भारतीय सीमावर्ती बजार जमुनाह जानुपर्ने बाध्यता रहेको मटेहियाका मायाराम यादवको दुखेसो छ ।

उनले यो क्षेत्रलाई दूध पकेट क्षेत्र घोषणा गरेर किसानलाई विभिन्न सहयोग र सहुलियत दिई दूधको बजार पनि सुनिश्चित गरिदिनुपर्ने माग गरे । गाउँपालिकाले पशु स्वास्थ्यकर्मीको व्यवस्था नगरेका कारण भारतीय पशु स्वास्थ्यकर्मीको भर पर्नु परेको अवस्था रहेको किसानहरुको भनाइ छ ।

सोही प्रकारले नरैनापुरका पशुपालक किसानले आफ्ना पशुको बीमा गराई दिन पनि स्थानीय सरकारसँग माग गरेका छन् । बीमा नहुँदा धेरै क्षति ब्यहोर्नुपरेको स्थानीय रामधन यादवले बताए । उनले पशु स्वास्थ्यकर्मी नहुँदा पशुचौपायाले अकालमा ज्यान गुमाउने गरेको बताउँदै त्यसको असर सिंगो परिवारलाई पर्ने गरेको बताए ।

नरैनापुरको ५ र ६ नम्बर वडा पशुपालनका लागि निकै प्रसिद्ध रहेकोले ती वडाका किसानका माग जायज रहेको जनाउँदै गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले त्यहाँ उत्पादन हुने दूधको बजारको व्यवस्था लगायत अन्य सहयोगका लागि दूध पकेट क्षेत्र घोषणा गर्न पहल गरिने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १६:२९