सूचनाको शक्ति - The Power Of Information

        

दशैंमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौं : खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली लगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशैँलगायतका महत्त्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटा अनुसार खाद्यान्न उपलब्ध गराइने बताए ।

दशैँ लगायतका चाडपर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकता भन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्ने कार्यले कहीँकतै भिडभाडका घटना भएको हुनसक्ने कम्पनीको भनाइ छ ।

उनले भने, ‘आवश्यकता अनुसारको खाद्य वस्तु खरिद गरी सहयोग पु¥याउन कम्पनी सबै उपभोक्तासँग हार्दिक आह्वान गर्दछ ।’ उक्त संस्थाले मुलुकका ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत दरमा चामल, दाल, तेल, नुन, चीन र गेडागुडी लगायतका गुणस्तरीय खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ ।

दशैँ लगायतका महत्त्वपूर्ण चाडका अवसरमा निजी क्षेत्रको तुलनामा अनुभव हुने गरी छुटको व्यवस्था गरिएको जनाउँदै कम्पनीले दुरदराजका जनतालाई सहजरुपमा खाद्यान्न पाउन भन्ने हेतुले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरिएको जनाएको छ ।

कतिपय दुर्गम जिल्लामा स्थानीयपालिका, वडा, आमासमूह र सहकारीसँग मिलेर सहुलियत दरमा सरल ढङ्गबाट अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन कम्पनीको प्रयास जारी रहेको कार्यकारी निर्देशक चन्दले जनाएका छन् ।

चाडबाडअघि नै अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भई ढुवानीको काम सुरु भइसकेको जनाउँदै कम्पनीले टेण्डर नपरेका कतिपय स्थानमा भने छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्याइने जनाएको छ ।

कम्पनीबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलको बिक्रीवितरण र मागको आकर्षण रहेको जनाउँदै काठमाडौं उपत्यका लगायतका सहरमा अनलाइन मागका आधारमा घरदैलोमै सेवा दिइरहेको जनाएको छ ।

कम्पनीबाट उपलब्ध हुने खाद्यान्न बजार मूल्यका तुलनामा निकै सस्तो रहेको जनाउँदै उहाँले वर्षैभर सहुलियत प्राप्त गर्ने सोच भने त्याग्न जरुरी रहेको बताए । दशैँमा काठमाडौं उपत्यकामा हुने खसीबोकाको बिक्री वितरणमा मूल्य सन्तुलन गर्न कम्पनीले मुलुकका विभिन्न क्षेत्रबाट खरिद गरी बिक्री वितरण गर्दै आएको छ ।

यसअघि कम्पनीले २०५८ सालसम्म चीनको तीब्बतबाट भेडा ल्याएर बिक्री वितरण गर्ने गर्थ्यो । केही वर्षअघिसम्म मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएकामा मुलुकमा कोरोना सङ्क्रमणको घटनापछि त्यो काम रोकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १६:२२