सूचनाको शक्ति - The Power Of Information

        

विचार

सूचना प्रविधिमा परजीवी सोच कहिलेसम्म ?

गएको ३० वर्षमा नेपालले एउटा पनि कम्प्युटिङ वा स्थानीयकरण मानक बनाएको छैन । नेपालमा सुरुआती काम पनि हुन सकेको छैन ।

आज जुन चिजलाई प्रविधि भनिन्छ, त्यो भाषा हो । अर्थात् भाषा प्रविधि हो । कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन । प्रविधि साध्य हो भने भाषा साधन हो । आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषा प्रविधिमा आधारित छ ।

भाषा–प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ । जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो । अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो ।

त्यसैगरी आज मानिसले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई सङ्केतन (इन्कोडिङ)मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता (भर्चुअल रियालिटी)को निर्माण गरिरहेको छ । यसको मुख्य आधार भनेको भाषालाई प्रविधि सक्षम बनाएर कम्प्युटरलाई निर्देशित गरी आफू अनुकुल काम गर्न सहज बनाएकाले यो सम्भव भएको हो ।

कम्प्युटर भाषाका माध्यमबाट चल्छ । कम्प्युटरले प्रविधि चलाउने हुँदा प्रविधि पनि भाषाकै माध्यमबाट चल्ने भयो । अतः भाषाप्रविधिमा काम गर्न सकिएन भने जुम्राले लाश छोडेजस्तै प्रविधिले हामीलाई छोड्छ । भाषा–प्रविधिमा काम गर्न भाषा–विज्ञान र कम्प्युटर–विज्ञान दुवैको उत्तिकै जरुरी हुन्छ । त्यसैले प्रविधि स्थानीयकरण भनेको भाषा स्थानीयकरण नै हो ।

सामान्य बुझाइमा भाषा स्थानीयकरणलाई अरुभाषामा गरेको काम आफ्नो भाषामा अनुवाद गर्ने भन्ने बुझाइ छ तर स्थानीयकरण भनेको प्रविधि हस्तान्तरण हो । भाषा स्थानीयकरणले विद्युतीय (इलेक्ट्रोनिक) उत्पादनलाई स्थानीय आवश्यकता अनुकूलन बनाउँछ । यसका लागि लक्षित देश, क्षेत्र वा भाषा र संस्कृतिको व्यापक अध्ययन आवश्यक पर्छ ।

स्थानीयकरण प्रक्रियाले कम्प्युटर सफ्टवेयर, भिडियो गेमहरू, वेबसाइटहरू, अडियो, भ्वाइसओभर वा अन्य मल्टिमिडिया सामग्रीलाई सांस्कृतिक अनुकूलन गर्छ । प्रविधिलाई संस्कृति अनुकूल बनाउन पूर्वाधार निर्माण गर्नुपर्छ । जस्तै लगत सङ्केतन (डेटा इन्कोडिङ), स्थानीय भाषामा सफ्टवेयर निर्माण, हार्डवेयर उपकरणमार्फत आफ्नो भाषा अनुकूल गरी मानव कम्प्युटर इन्टरफेसको निर्माण गर्नुपर्छ ।

कुनै पनि देश वा समाजमा प्रविधि विकास गर्नु छ भने सूचना प्रविधिमा स्थानीयकरण पहिलो चरण हो । कम्प्युटिङ टेक्नोलोजीलाई स्थानीयकरण, अन्तर्राष्ट्रियकरण गर्दा वा प्रविधि आफू अनुकूलन बनाउँदा माइक्रोसफ्ट, आईबीएम र सन माइक्रोसिस्टम्स जस्ता अन्तर्राष्ट्रिय कम्पनीले सुरुमा के के गरे त्यसको गहन अध्ययन गर्नुपर्छ । अतः अनुसन्धान पहिलो खुड्किला हुने नै भयो ।

प्रविधि अनुसन्धानको सुरुआती चरणमा प्रविधि स्थानीयकरण (आफू अनुकुल बनाउने) र अन्तर्राष्ट्रियकरणका मापदण्डहरू निर्माण गरियो । सुरुमा वस्तु वा सामान आदानप्रदानका तौर तरिका र मौद्रिक प्रणालीका प्रारम्भिक मापदण्ड हेरियो । अनि भाषा सञ्चारको आधारभूत मापदण्ड भएकाले पहिले वर्णमालाबाटै भाषा प्रविधिको मापदण्ड बनाउन सुरु गरियो ।

भाषा स्थानीयकरणले विद्युतीय (इलेक्ट्रोनिक) उत्पादनलाई स्थानीय आवश्यकता अनुकूलन बनाउँछ । यसका लागि लक्षित देश, क्षेत्र वा भाषा र संस्कृतिको व्यापक अध्ययन आवश्यक पर्छ । स्थानीयकरण प्रक्रियाले कम्प्युटर सफ्टवेयर, भिडियो गेमहरू, वेबसाइटहरू, अडियो, भ्वाइसओभर वा अन्य मल्टिमिडिया सामग्रीलाई सांस्कृतिक अनुकूलन गर्छ । सूचना आदानप्रदानका लागि अमेरिकी मानक कोड (आस्की) कम्प्युटरको विकासमा सबैभन्दा पुरानो सङ्केतन मानक हो ।

अमेरिकी राष्ट्रिय मानक संस्थाले यसलाई पहिलो पटक सन् १९६३ मा कम्प्युटिङ मानक बनाएर सार्वजनिक गर्यो । अधिकांश प्रविधि अङ्ग्रेजी भाषामा सङ्केतन भएको हुनाले अङ्ग्रेजीमा पहुँच नभएका विश्वनागरिकका लागि प्रविधिमा भाषा अवरोध सिर्जना भयो । विश्व समाज बहुभाषी थियो, तर प्रविधि एकल भाषामा चल्दा अनुसन्धाताले यसको विकल्प खोज्न थाले ।

विकल्प खोज्दै जाँदा प्रविधिका सफ्टवेयर आफ्नै भाषामा स्थानीयकरण गर्न सकिन्छ भन्ने सम्भावना देखिएपछि सन् १९९२ मा युनिकोडको विकास भएपछि बहुभाषिक मानक बनाउन थालियो । १९९२ देखि २०२२ सम्म ३० वर्षको अवधिमा सन्सारका धेरै देशले आफ्नो देशको राष्ट्रिय मानक बनाएर पूर्ण रूपमा सूचना तथा सञ्चार प्रविधि आफ्नै भाषामा सञ्चालन गर्न थाले ।

विद्यालय र विश्वविद्यालयमा यस विषयमा पाठ्यक्रम निर्माण गरी देशलाई चाहिने जनशक्ति स्वदेशमै उत्पादन गरे तर ३० वर्षको अवधिमा नेपालको सरकारले चाहिँ डलरमा ऋण लिएर अङ्ग्रेजी भाषामा प्रविधिको काम गर्यो । ऋण दिने देश र कम्पनीले डाटा पनि लग्यो, साँवाको ब्याज पनि लग्यो । नेपाली नागरिकका टाउकामा ऋणमात्र बाँकी रह्यो ।

गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइसराइ र सम्बन्ध विच्छेद जस्ता नाम नम्बर अङ्रेजीमा लेख्न मात्र विश्वबैँक, एसियाली विकास बैक र दाता राष्ट्रबाट सन् २०१० देखि २०१९ सम्म ४७ अरब रुपैया सरकारले ऋण काढेको छ । यति सामान्य काम नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले गर्न सक्दैन ? पक्कै पनि सक्छ ।

तर सरकारले विश्वविद्यालयको जनशक्तिको अपहेलना गर्यो । सामान्य काममा नेपालीका टुप्पीमा विदेशी ऋण बोकायो । यो त कास्टिङ मात्रै हो । नेपाली नागरिकलाई डलरको ऋणमा डुबाएर देश चलाउनेले मोज गरेका उदाहरण त कति छन् कति । त्यसै १८ खरब वैदिशिक ऋण पुग्छ ? प्रविधि स्थानान्तरण (टेक्नोलोजी ट्रान्सफर) के हो ? प्रविधिलाई कसरी स्थानीयकरण गर्ने ?

प्रविधि स्थानान्तरण एउटा प्राविधिक प्रक्रिया हो जसमा कुनै सङ्गठन वा देशमा विकास भएको प्रविधि वा ज्ञान अर्को देश वा सङ्गठनमा हस्तान्तरण गर्ने विधि हुन्छ । एउटा भाषामा विकास भइसकेको पद्धतिलाई अर्को देश वा सङ्गठनले सुरुदेखि नै बनाउँदा सीप, लागत र समय धेरै खर्च गर्नुपर्ने हुन्छ । त्यसैले प्रविधि स्थानीयकरणका माध्यमबाट त्यसलाई आफू अनुकुल बनाउने विधिको निर्माण गरियो ।

प्रविधि स्थानान्तरण विभिन्न विधिहरू अपनाएर पूरा गर्न सकिन्छ । अनुवादका माध्यमबाट कम्प्युटर सफ्टवेयरलाई आफ्नो भाषामा परिवर्तन गर्नु एउटा विधि हो । अहिलेको विश्वमा प्रविधि र नवप्रवर्तन (इनोभेसन) मा पहुँच असमान छ । वैज्ञानिक अनुसन्धान र नवीन प्रविधिहरूको प्रयोगमा विकसित र विकासशील देशहरू बीच ठूलो खाडल छ । यसलाई डिजिटल डिभाइडका नामबाट चिनाउने गरिन्छ ।

सुरुमा नवप्रवर्तन र ज्ञान सिर्जना केही देशहरूमा केन्द्रित भए तापनि हालका वर्षहरूमा ज्ञान सिर्जनाको प्रवृत्तिमा व्यापकता देखिएको छ । धेरै देशहरूले अनुसन्धान र विकास (आर एन डी) मा लगानी गरेर वैज्ञानिक अनुसन्धानको क्षमता विकास गरेका छन् । किनभने आफ्नै देशको भाषामा आफ्नै देशको जनशक्तिबाट प्रविधिको विकास गरियो भने दिगो वृद्धि हासिल गर्न किफायती र सजिलो हुन्छ ।

एकातिर गुगल, एप्पल, फेसबुक, अमेजन, आईबीएम र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूले सूचना प्रविधिमा एकाधिकार जमाइरहेका छन् भने अर्कातिर चाइना, रुस र अरेबियन देशले अङ्रेजी इतर भाषामा प्रविधिको विकास गरेर अन्तर्राष्ट्रिय उपभोक्ता देशहरूलाई स्थानीयकरणको सुविधा पनि दिइरहेका छन् ।

युरोपियन र अमेरिकी देशले माइक्रोसफ्ट विन्डोज, म्याक्स, हार्मोनी र डेबियन जस्ता प्रमुख अपरेटिङ सिस्टमहरूलाई स्थानीयकरण गर्न प्याटेन्टमा केही खुकोलो पनि गर्दैछन् । युनिकोडको विकासपछि आधुनिक प्रणालीको एकल वर्ण सङ्केतन (वर्ण एन्कोडिङ) पद्धतिले फरक भाषाहरूमा समान विधिले सफ्टवेयर निर्माण गर्न सहजभएको छ तर मानक भने आफ्नै देशको भाषा र भूसंस्कृतिमा आधारित हुनुपर्छ ।

यसका लागि विभिन्न देशहरूका विभिन्न मानकहरू छन् । जस्तै भाषा अनुसार डाटा भण्डारण प्रणाली, तिथि, मिति, पात्रो, पैसा गणना प्रणाली, टेलिफोन नम्बर प्रणाली, हुलाक ठेगाना, हुलाक कोड आदि । समय क्षेत्रहरू सन्सारभरी फरक हुन्छन् । जस्तै नेपालका हकमा पूर्वबाट इमेल वा इन्टरनेटमा पठाएको सन्देशको समय र पश्चिमबाट पठाएको सन्देशको समय फरक हुन्छ । तर कम्प्युटरमा स्थानीय लोक्याल (भूसाङ्कृतिक पहिचान) जडान गरियो भने सन्देश पठाउने र प्राप्त गर्ने देशको समय कम्प्युटर वा इन्टरनेटले आफैं मिलाउँछ ।

कम्प्युटरमा लोक्याल जडान गर्ने पहिलो आधार भनेको भाषा नै हो । जस्तै अमेरिकाको लोक्यालमा खुल्ने कम्प्युटरको कोड अङ्रेजी अमेरिका (इएन)युएस) हुन्छ । बेलायतमा अङ्रेजी ग्रेटब्रिटेन (इएन)जिबी) हुन्छ । त्यसैगरी अरेबिक भाषाहरूमा अरेबिक अल्जेरिया (एआर)डिजेड), अरेबिक इराक (एआर)आइक्यु), अरेबिक साउदी अरेबिया (एआर)एसए), इन्डिया (आइएन)एचआइ) भएजस्तै नेपालको नेपाली नेपाल (एनइ)एनपी) हुनुपर्ने हो । तर नेपालमा एनइ)एनपी मा एउटा पनि कम्प्युटर खुल्दैन ।

प्रविधि सम्बन्धी कानुन बनाएर यसको नियमन गर्नुपर्छ । विभिन्न देशहरूमा विभिन्न भाषाप्रविधि कानुन निर्माण गरेका हुन्छन् । कम्प्युटरमा लोक्याल (भूसांस्कृतिक पहिचान) सही तरिकाले राखियो भने सफ्टवेयर उत्पादन, कोड परिवर्तन, गोपनीयता, प्रविधि कानूनको पालन, वेबसाइट निर्माणको देश, भाषा र स्थानको जानकारी कम्प्युटरले अटोमेटिक रुपमा प्रशोधन गर्न सक्छ । कम्प्युटरमा सही लोक्याल (भूसांस्कृतिक पहिचान) राखियो भने साइबर अपराधको उत्पत्तिस्थान पत्ता लगाउन पनि सजिलो हुन्छ ।

डाटा उत्पादनमा मेटाडाटाको जानकारी सही तरिकाले राखियो भने बहुभाषिक डाटा अटोमेटिक रुपमा प्रशोधन गर्न सकिन्छ । तर नेपालका सरकारी होस् वा निजी संस्था कसैले पनि मेटाडाटा राख्ने गरेको पाइएको छैन । राष्ट्रिय योजना आयोगले डब्लिन कोर मेटाडाटा प्रयोग गर्छु भनेको छ तर राष्ट्रिय योजना आयोगको डाटामा डब्लिन कोरको कुनै पनि मापदण्ड प्रयोग भएको पाइदैन ।

कम्प्युटर त एउटा मेसिन मात्र हो । कम्प्युटरले मानव भाषाहरू बुझ्नका लागि लामो सङ्ख्यात्मक शृङ्खला बनाएर अल्गोरिदममा ढाल्नु पर्छ । कम्प्युटरलाई नेपाली भाषामा स्थानीयकरण गर्न सबभन्दा पहिले वर्ण र नम्बरको राष्ट्रिय मानक बनाउनु पर्छ । अनुप्रयोगमा प्रयोग हुने सबै कुरालाई नेपाली वर्ण र अङ्कमा विभाजित हुनुपर्छ त्यसपछि वर्णहरू नम्बरहरूसँग म्याप गर्नुपर्छ ।

यो म्यापिङ पद्धतिलाई वर्ण सङ्केतन (क्यारेक्टर इन्कोडिङ) भनेर चिनिन्छ । स्थानीयकरण प्रक्रियामा सङ्केतन पद्धतिले महत्त्वपूर्ण भूमिका खेल्छ । किनभने प्रशोधन (प्रोसेसिङ) र प्रदर्शन (डिस्प्ले) का लागि यसलाई उचित सङ्केतन (एन्कोडिङ) चाहिन्छ । यदि त्यहाँ कुनै विशेष सङ्केतन छुट्यो भने कम्प्युटरले यी वर्णहरूलाई नम्बरहरूसँग म्यापिङ गर्न असक्षम हुन्छ । र कतै कोठा कोठा र कतै डट डटको गोलो चिह्न तथा कतै ह्वाट ह्वाट (??) प्रदर्शन गर्दछ । जुन कुरा नेपालीमा कम्प्युटरमा काम गर्दा हामीले धेरै पटक देखेका भोगेका छौँ ।

घर बनाउने आधारभूत कुरा ढुङ्गा र इट्टा भएजस्तै स्थानीयकरणको आधारभूत कुरा भनेको वर्ण र नम्बरको उचित सङ्केतन नै हो । त्यसैले स्थानीयकरणमा काम गर्न नेपाली राष्ट्रिय मानक बनाउनु पहिलो कुरा हो । गएको ३० वर्षमा नेपालले एउटा पनि कम्प्युटिङ वा स्थानीयकरण मानक बनाएको छैन । नेपालमा सुरुआती काम पनि हुन सकेको छैन । नेपाली कम्प्युटिङको एउटा सानो उदाहरण हेरौँ ।

बहुभाषिक कम्प्युटर प्रणालीहरूले दृष्यात्मक (रेन्डरिङ) समस्याहरू समाधान गर्न युनिकोड मानक प्रयोग गरेका छन् । हामी कहिले गोरख, कहिले कान्तिपुर, कहिले हिमाली जस्ता टिटिएफ फन्ट प्रयोग गरेर नेपाली डाटा उत्पादन गर्ने गर्छौं । यस्तो डाटालाई प्रशोधन गर्न सकिँदैन । किनभने कम्प्युटरले स्क्रिनमा नेपाली वर्ण देखाउँछ तर भण्डारण चाहिँ अङ्ग्रेजीमै गर्छ ।

बागमतिमा हालेको फोहोर त १०, २० वा ३० वर्ष लगाएर सफा गर्न सकिएला तर हामीले कम्प्युटर डाटामा हालेको फोहोर त सफा गर्नै सकिँदैन । यसलाई त फ्याल्नु सिबाय अर्को विकल्प छैन । करोडौँ, अरबौँ रुपैयाँ डलरमा ऋण लिएर उत्पादन गरेको डाटा अङग्रेजीमा राखे जति प्रशोधन गरेर भण्डारण गर्न सकिन्छ । नेपाली डाटा चाहिँ पुनः उत्पादन गर्नुपर्छ । सूचना प्रविधिमा परजीवी सोच रहेसम्म प्रविधि स्थानीयकरण सम्भव हुँदैन ।

 

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १५:४०