कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘दशैं सरसफाई उत्सव’ आयोजना गरिएको छ । नगरलाई स्वच्छ र दुर्गन्धरहित बनाउन ‘दशैं सरसफाई उत्सव’ आयोजना गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।
नगरभित्रको फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला ‘क्लिन एण्ड ग्रीन सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडा कार्यालयले ‘दशैं सरसफाई उत्सव’को आयोजना गरी नगरमा सरसफाई अभियान सुरु गरिएका हुन् ।
विभिन्न २३ वटा संघसंस्थाको समन्वयमा ‘दशैं सरसफाई उत्सव’ सञ्चालन गरिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनले नगरभित्रको फोहोरले व्यवस्थापनमा सबैको साझेदारी र अपनत्व कायम गर्न यो उत्सव आयोजना गरिएको बताइन् ।
उत्सवमा सहभागी हुन सबैलाई अपिल गरिएको जानकारी दिँदै नगर प्रमुख ढकालले भनिन्, ‘सडक तथा नालीमा जथाभावी फोहोर फाल्ने, सरसफाईमा अटेरी गरे कानुन बमोजिम कार्वाही हुनेछ ।’ शनिबार वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको सरसफाई अभिायन वीरेन्द्र चौक हुँदै पीपल चौतारामा पुगेर टुंगिएको थियो ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा समयमै फोहोर संकलन नहुँदा चोकचोकमा फोहोरको डँगुर लाग्न थालेपछि नगरबासीहरु पनि स्वस्फूर्तरुपमा सरसफाई अभिायनमा सहभागी हुन थालेका छन् । चाडपर्व नजिकिएसँगै आयोजना गरिएको ‘दशैं सरसफाई उत्सव’लाई यहाँका नागरिकले ‘चाडपर्व’ उत्सवका रुपमा लिएका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का स्नाथीय नागरिकहरुले भने, ‘फोहोर उठाएर नगरलाई सफा र स्वच्छ बनाउनु पनि उत्सव हो । हामीले सरसफाई अभियानलाई चाडपर्वकै उत्सवका रुपमा लिएका छौं । यस्ता क्रिायकलाप निरन्तर हुनुपर्छ । यसमा सबै नगरबासीले पूर्णरुपमा सहयोग गर्नुपर्छ ।’
वीरेन्द्रनगरमा फोहोर, दुर्गन्ध र ढल निकासको समस्या झेलिरहेका नगरवासीहरुले ‘दशैं सरसफाई उत्सव’लाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिनुपर्ने बताएका छन् । नगर क्षेत्र दुर्गन्धीत र कुरुप बन्दै गइरहेका बेला आयोजना गरिएको ‘दशैं सरसफाई उत्सव’ले नगरको फोहोर तथा ढल व्यवस्थापनमा सघाउ पुर्याउने विश्वास गरिएको छ ।
सत्यपाटी । सुर्खेत ।