सूचनाको शक्ति - The Power Of Information

        

चुरोट नखाने व्यक्तिलाई पनि फोक्सोको क्यान्सर

ध्रुमपान गरिरहेको नुवाकोटकी एक महिला । तस्वीर : राजेश घिमिरे

वायु प्रदुषणलाई हल्का रूपमा लिइरहनु भएको छ भने सावधान हुनुहोस् किनकी कहिल्यै चुरोट बिडी नखाने मानिसमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च स्तरमा रहेको र सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भनेर विश्व बैंकले बताएको केही समयमा नै यो अनुसन्धान सार्वजनिक भएको हो ।

वेलायत लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्–फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ ।

४० हजार मानिसमा गरिएको यो अनुसन्धानको नतिजा सेप्टेम्बरको दोश्रो साता सार्वजनिक गरिएको थियो । यसलाई वैज्ञानिक सर्कलमा ‘एक प्रमुख सफलता’ को रूपमा हेरिएको थियो । पीएम २.५ भनेको हावामा २.५ माइक्रोमिटरसम्म व्यास भएको प्रदूषण कण हो ।

धुम्रपान फोक्सोको क्यान्सरको लागि सबैभन्दा ठूलो जोखिम कारक मानिन्छ । यो ७० प्रतिशत भन्दा बढी क्यान्सरका ‘केस’हरूको लागि धुम्रपान जिम्मेवार छ । तर फ्रान्सिस क्रिक इन्स्टिच्युटले आफ्नो अध्ययनको बारेमा जारी गरेको विज्ञप्तिमा वायु प्रदूषणले सन् २०१९ मा विश्वभर फोक्सोको क्यान्सरबाट तीन लाखभन्दा बढीको मृत्यु भएको बताएको छ ।

अध्ययनले पीएम २.५ ले फोक्सो सेल वा कोशिकाहरूलाई सुन्याउछ भन्ने प्राक्कल्पना वा ह्यापोथेसिसका आधारमा परीक्षण गर्यो । जसले सामान्यतया क्यान्सरवाला म्यूटेशन बोक्ने सुप्त कोशिकाहरूलाई सक्रिय बनाउँछ भन्ने अनुमानका आधारमा परीक्षण सुरु गरिएको हो ।

त्यसपछि सुप्त कोशिकाहरूको फैलिदा रहेछन्, अनि पीएम २.५ को कारणले हुने सूजनसँगै, ट्युमरहरू बन्ने रहेछन्, जसमा अनियन्त्रित रूपमा बढ्ने क्यान्सरको प्रवृत्ति हुने रहेछ । अध्ययनले जहाँ पीएम २.५ उच्च छ, त्यहाँ अन्य प्रकारको क्यान्सरको दर पनि बढी छ भन्ने पनि पत्ता लगायो ।

यसका प्रमुख अनुसन्धानकर्ता र क्यान्सर औषधिमा विशेषज्ञ प्रोफेसर चार्ल्स स्वान्टनले यो अनुसन्धानका निष्कर्षहरू गत हप्ता युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजी (ईएसएमओ) कांग्रेसमा प्रस्तुत गर्नुभएको थियो । ईएसएमओ क्यान्सर विशेषज्ञहरूको एक अग्रणी व्यावसायिक संगठन हो ।

फ्रान्सिस क्रिकको यो अध्ययनका बारेमा गतसाता प्रकाशित लेखमा, द ल्यान्सेट ओन्कोलोजीले यसलाई ‘एक प्रमुख खोज’ भनेको छ । उक्त लेखमा स्वान्टनलाई उद्धृत गर्दै भनिएकोः ’अध्ययनले क्यान्सरको बारेमा हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । धुम्रपान नगर्ने मानिसहरू कसरीको शरीरमा कसरी फोक्सोको क्यान्सर बढ्न थालेको छ भन्ने बारेमा हामीले थाहा पाएका छौँ । अब हामी यसको कारण जान्दछौँ ।

‘क्यान्सर जन्माउने कसरी भएका कोशिकाहरू हाम्रो उमेरसँगै प्राकृतिक रूपमा जम्मा हुन्छन्, तर तिनीहरू सामान्यतया निष्क्रिय हुन्छन्,’ स्वान्टनले भने, ‘वायु प्रदूषणले फोक्सोमा यी कोशिकाहरूलाई जगाउँछ, तिनीहरूलाई बढ्न र सम्भावित रूपमा ट्युमरहरू बनाउन प्रोत्साहन दिन्छ भन्ने कुरा हामीले फेला पार्यौं ।’

फ्रान्सिस क्रिक इन्स्टिच्युटको कथन अनुसार, ‘यद्यपि, धुम्रपान फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो जोखिम कारक हो । यद्यपि बाहिरी वायु प्रदूषण यूकेमा फोक्सोको क्यान्सरको १० मा एकको लागि जिम्मेवार छ । ‘बेलायतमा हरेक वर्ष धुम्रपान नगर्ने अनुमानित ६,००० मानिस फोक्सोको क्यान्सरबाट मर्छन्,’ विज्ञप्तिमा भनिएको छ । यी मध्ये केही केसहरू धेरै हदसम्म वायु प्रदूषणको कारण हुन सक्छन् ।

सन् २०१९ मा, पीएम २.५ को जोखिमको कारण विश्वभरि लगभग तीन लाख फोक्सोको क्यान्सरको मृत्यु भएको थियो । अध्ययनहरूका अनुसार वायु प्रदूषणमा सानो परिवर्तनले पनि मानव स्वास्थ्यमा विनाशकारी प्रभाव पार्न सक्छ । यस अनुसन्धानका सहलेखक डा.एमिलिया लिम भन्छन्, ‘हाम्रो विश्लेषणले वायु प्रदूषणको बढ्दो स्तर फोक्सोको क्यान्सर, मेसोथेलियोमा र मुख र घाँटीको क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित रहेको देखाउँछ ।’

डा. लिम भन्छन्, ‘यस खोजले वायु प्रदूषण जस्ता कार्सिनोजेनको कारण हुने सूजनका कारण हुने क्यान्सरको लागि व्यापक भूमिका निर्वाह गरेको देखिन्छ । वायु प्रदूषणको स्तरमा सानो परिवर्तनले पनि मानव स्वास्थ्यलाई असर गर्न सक्छ । विश्वका ९९ प्रतिशत मानिसहरू वायु प्रदूषणको स्तर डब्लुएचओको निर्देशनभन्दा माथि रहेको ठाउँमा बस्छन् । यसको मतलब यसले हामी सबैलाई असर गरिरहेको छ ।’

उल्लेखनीय के छ भने यो साता जारी गरिएको नेपाल राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन मा विश्व बैंक समूह भनेको छ, ’नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च छ जहाँ सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । झन्डै सम्पूर्ण जनसंख्या असुरक्षित तहको अति सूक्ष्म धुलकण (फाइन पार्टिकुलेट म्याटर) को चपेटामा छन् ।

घरबाहिर (अधिकांश रुपमा दाउरा–कोइला–गुइँठा आदिको प्रयोग गरी पकाउने एवं तताउने, हिँडडुल, तथा कृषि अवशेष र फोहोर जलाउने कार्यबाट हुने) र घरभित्र (अधिकांश रुपमा दाउरा–कोइला–गुइँठा आदिको प्रयोग गरी पकाउने एवं तताउने कार्यमा हुने) का दुवै वायु प्रदूषणको चपेटामा परेका हुन ।’

प्रतिव्यक्ति हरित गृह ग्यास उत्सर्जन न्यून मात्रामा र विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेता पनि वायु प्रदुषणको मुख्य स्रोतका रूपमा रहेका कृषि तथा उर्जासँग सम्बन्धित उत्सर्जनहरूले अर्थतन्त्रमा नकरात्मक प्रभाव पारिरहेको विश्व बैंकले जनाएको छ । विश्व बैंक समूह जारी गरेको नेपाल राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन उक्त कुरा जनाएको छ ।

विश्व बैंकका अनुसार हरित गृह ग्यासको उत्सर्जन विशेष गरी कृषि (५४ प्रतिशत) र उर्जा (२८ प्रतिशत) क्षेत्रबाट धेरै रहेको छ । सन् २०१२ देखि सन् २०१९ सम्मको अवधिमा नेपालको हरितगृह ग्यास उत्सर्जन दर २६.९ प्रतिशतले वृद्धि भएको देखिन्छ जुन विशेषतः बढ्दो उर्जा खपत र उद्योग कल कारखानाबाट रहेको छ ।

विद्युत खपत र उद्योग कलकारखानाले सन् २०१९ मा भएको नेपालको कूल उत्सर्जनको २८.३ र ७.४ प्रतिशत हिस्सा ओगटेको छ । जैविक वस्तु, वायोमास, यातायात, खुला रुपमा फोहोरमैला जलाउने कार्य र औद्योगिक क्रियाकलापले पनि हरितगृह ग्यास उत्सर्जन र वायु प्रदूषण दुवै उल्लेख्य रुपमा बढाउन भूमिका निर्वाह गरेको विश्व बैंकले बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १३:३९