सूचनाको शक्ति - The Power Of Information

        

कुरुप बन्दै वीरेन्द्रनगर

अव्यवस्थित ढल र पार्किङ्गले प्रदेश राजधानी अस्तव्यस्त

वीरेन्द्रनगरमा फोहोर मैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका तथा ढल निकास नहुँदा नगरवासीले समस्या झेल्दै आएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर अतिव्यस्त शहर बनेको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगका सडकमा दोहोरो सवारी साधनको ताँती हुन्छन् । राजधानी बनेसँगै वीरेन्द्रनगरमा व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ ।

वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढंगले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङका लागि मुख्य बजार तथा राजमार्गका नो पार्किङ लेखिएका साइन बोर्डहरु नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभावी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङमात्र नभई समयमै फोहोर संकलन नहुँदा चोकचोकमा फोहोरको डँगुर लाग्ने गरेको छ । ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले वीरेन्द्रनगर कुरुपजस्तै बन्दै गएको छ ।

फोहर ब्यवस्थापन, ढल निकास तथा पार्किङका लागि सरकारी तथा गैरसरकारी क्षेत्र चासो नदेखाउँदा शहर कुरुप बन्दै गएको नगरवासीहरु बताउँछन् । ठाउँ–ठाउँमा पार्किङको सुविधा नहुँदा सवारी चालकसमेत मारमा पर्ने गरेका छन् । यहाँका कतिपय सरकारी कार्यालयमा समेत पार्किङको व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ ।

सडक किनारका घरधनीले पनि पार्किङ क्षेत्र राखेर घर बनाएको देखिँदैन । सटर वा घरभाडामा लिएर व्यवसाय गर्ने र सामान खरिद गर्न जाने उपभोक्ताका लागि सडक नै पार्किङस्थल बन्ने गरेको छ । सवारी साधन किन्नेको चाप वर्षेनी बढ्दै गएको छ, तर पार्किङको समस्या समाधान गर्नेतर्फ सम्बन्धित निकायको चासो नै देखिँदैन ।

यहाँको फोहर ब्यवस्थापन ढल, निकास तथा पार्किङका लागि सरकारी तथा गैरसरकारी क्षेत्रले साझा अभियान सञ्चालन गरेर व्यवस्थित बनाउने योजना बनाए पनि अहिलेसम्म प्रगति भने शुन्य जस्तै छ । वीरेन्द्रनगरमा फोहोर मैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका तथा ढल निकास नहुँदा नगरवासीले समस्या झेल्दै आएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुुर्खेतको विरेन्द्रनगरस्थित मुख्य बजार क्षेत्रको सडक क्षेत्रमा पर्ने वीरेन्द्र चोकमा अव्यवस्थित पार्किङ्ग गरिएका सवारी साधन । अव्यवस्थित पार्किङ्गले पैदल यात्रु तथा अन्य सवारी साधन ओहोरदोहोरमा कठिनाई हुने गरेको छ । तस्वीर : सुरेश आचार्य

ढल निकासमात्र नभई यहाँ दैनिक निस्कने फोहोर ब्यवस्थापन तथा पार्किङ व्यवस्थापनमा प्रदेश तथा स्थानीय सरकारबीच समन्वय नहुँदा स्थानीय तथा राजधानीमा आउने नागरिकले सास्ती झेल्नुपर्ने अवस्था छ । व्यवस्थित नहुँदा तथा पार्किङ स्थलका लागि स्थान नछुट्टयाउँदा राजधानीमा सडक दुर्घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् ।

अस्तव्यस्त पार्किङ्ग व्यवस्थापनका लागि ट्राफिक प्रहरी तथा वीरेन्द्रनगर नगरपालिकाले संयुक्तरुपमा काम गर्ने बताए पनि हालसम्म कुनै काम भएको देखिँदैन । सवारी पार्किङका लागि स्थानीय सरकारले छुट्याएको सडक किनारका पार्किङ्गस्थल फुटपाथका रुपमा प्रयोग हुनुका साथै अन्य निर्माण सामग्री राख्नाले पार्किङ्गमा समस्या हुने गरेको छ ।

यसलाई स्थानीय सरकारले दिर्घकालिन रुपमा ब्यवस्थापन गर्न पर्ने ट्राफिक प्रहरीको भनाई छ । फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यतामा कमी आएको नगरपालिकाको बुझाई छ । ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

उनले ढल निकासको व्यवस्थापनका लागि स्थानीय सरकार लागिपरेको बताउँदै बजार क्षेत्रभित्रका सडकमा भइरहेको अव्यवस्थित पार्किङ्गलाई पनि हटाएर नगरलाई व्यवस्थित गरिने जानकारी दिए । फोहोरमैला, ढल निकास तथा ट्राफिक ब्यवस्थापनमा स्थानीय सरकार मात्रै नभई प्रदेश सरकारले पनि बेलैमा ध्यान पुर्याउन आवश्यक रहेको उनको भनाई छ ।

बजार क्षेत्रमा खुला पार्किङ्गस्थलको अभावले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या हुँदै आएको नगर प्रमुख ढकालले बताइन् । ट्राफिक नियमबारे चेतनाको अभाव, सडक पेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले नगर क्षेत्र कुरुप बन्दै गएको छ भने शहरभित्र ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:५६