सूचनाको शक्ति - The Power Of Information

        

लौरो चुनाव चिन्ह स्वतन्त्रहरूको होइन : निर्वाचन आयोग

लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषयप्रति हाम्रो नेपाली पार्टीका संयोजक अनन्तराज घिमिरेसँग निर्वाचन आयोगले स्पष्टिकरण माग गरेको छ ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ का स्वतन्त्र उमेदवार विजय कँडेल र सुनिल रिजालले गत आइतबार (दर्ता नम्बर १६००) मा हाम्रो नेपाली पार्टीको नाममा दर्ता भएको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए ।

यही उजुरीको आधारमा शुक्रबार आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको हो भनि झुटा प्रचारप्रसार गरिएको भन्दै हाम्रो नेपाल पार्टीको संयोजक अनन्तराज घिमिरेलाई स्पष्टिकरण दिन निर्वाचन आयोगमा उपस्थित हुनको लागि निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनमा निर्वाचन आयोगले लौरो चिन्ह स्वतन्त्र उम्मेदवारहरुलाई प्रदान गरेकोमा हाल सो चुनाव चिन्ह स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा आइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १६:४५