सूचनाको शक्ति - The Power Of Information

        

पुटिनद्वारा देशभित्रै सेना परिचालन, सीमामा देश छाड्नेहरुको लर्को

रुसमा सेना परिचालन गरिएपछि देश छाड्नेहरुको संख्या बढिरहेको समाचारहरुमा बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् ।

अन्तराएष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने जनाएका छन् । राष्ट्रपति पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेसँगै तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्नुपरेको पुटिनको भनाइ छ । बुधबार एक सम्बोधनमा राष्ट्रपति पुटिनले सो कुरा जनाएको बीबीसीले जनाएको छ । समाचारहरुमा जनाइएअनुसार सेना परिचालनसँगै युक्रेनमा रुसले आक्रमण गरेको विरोध गर्ने रुसी नागरिकहरु निशानामा परेपछि धेरैले देश छाडिरहेका छन् ।

फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ भने सीमा पार गर्न खोज्नेहरुको पाँच किलोमिटरसम्म लामो लाइन देखिएको बीबीसीले उल्लेख गरेको छ । कतिपय सेना परिचालनको विरोधमा प्रदर्शनमा पनि उत्रिएका छन् । सरकारले बुधबार इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेहरुलाई १५ वर्षसम्म सजाय हुने चेतावनी दिएको थियो ।

उक्त चेतावनीसँगै रुसबाट पलायनहरुको संख्या पनि बढेको हो । युक्रेनमा रुसले आक्रमणको गरेको विरोध गर्ने धेरैजसो सामाजिक कार्यकर्ताहरु मस्को र सेन्टपिटर्सबर्गबाट पक्राउ परेका छन् । यसैगरी साइबेरियाई शहर इरकुत्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:१२