सूचनाको शक्ति - The Power Of Information

        

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

नवौँ राष्ट्रिय खेलकुदको तयारी घनिभूत

४०८ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकको तय भइसकेको छ ।

मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ ।

प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर शर्माले जानकारी दिए ।

उनले भने, ‘हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनीभूत रूपमा पूर्णता दिने, कहीँकतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।’

प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ ।

राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिक रूपमा अनुरोध गर्नेछ । यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पुर्याएर देखाउने काम भइरहेको छ ।

उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सचिव डा.रेग्मी भन्छन्, ‘खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषदबाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।’

खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेल उत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ ।

पहिलोपटक प्रादेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् ।

प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ ृएनआरएनेको टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो ।

यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्याउनेछ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलले जानकारी दिए ।

नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेल

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु.४९ लाखका दरले रकम उपलब्ध गराएको थियो । प्रतियोगिता अन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु.२५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु. १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

४०८ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकको यसअघि नै तय भइसकेको छ । पोखरा घुम्नका लागि अन्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको प्रतियोगिताले पोखराको सौन्दर्य प्रवर्धन गर्न थप योगदान पुर्याउनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:०२