सूचनाको शक्ति - The Power Of Information

        

सडक सञ्जालले जोड्दै बाँकेका ग्रामीण बस्ती

फाइल तस्वीर

बाँकेका ग्रामीण बस्ती नेपालगन्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै छन् । कुल २३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा अहिले ११६ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

ग्रामीण बस्तीमा विकासका पूर्वाधार धमाधम बन्दैछन् । एसियाली विकास बैंकको करिब रु चार अर्बको सहयोगमा नेपालगन्जमा सडक कालोपत्र र नाला निर्माणले नजिकका गाउँबस्तीलाई नेपालगन्जसँग नजिक बनाएको छ ।

नेपालगन्ज उपमहानगरको एकीकृत सहरी विकास आयोजनासँगै गाउँपालिकाबाट सञ्चालन भइरहेका सडक कालोपत्रले गति लिएपछि नेपालगन्ज र ग्रामीण बस्तीको दूरी क्रमशः घट्दै गएको हो । बाँकेका ग्रामीण क्षेत्रमा अहिले पक्की सडक, पुल–पुलेसा निर्माण हुन थालेपछि नयाँ उद्योग, व्यवसाय स्थापना गर्ने क्रम पनि बढेको छ ।

नेपालगन्ज नगरमा सडक विस्तार योजनासँगै अन्तर्राष्ट्रियस्तरको जल उद्यान (वाटरपार्क) निर्माण, रानी तलाउको जीर्णोद्धार, महेन्द्र उद्यानको स्तरोन्नति, डम्पिङ साइट, आधुनिक बसपार्क निर्माणको काम पनि धमाधम भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामले तिव्रता पाएको हो, काम गर्ने क्रममा ढिलो–चाँडो हुनसक्छ,’ नगर प्रमुख विष्ट भन्छन् । नगरपालिकाले सञ्चालन गरेको हरियाली अभियान अन्तर्गत सुर्खेत सडकखण्डमा रुख रोप्ने कामलाई तीव्रता दिइएको उनले बताए ।

नेपालगन्जलाई उत्कृष्ट नमूना सहर बनाउने लक्ष्यका साथ उपमहानगरले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । ‘हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ,’ नगरप्रमुख विष्टले भने ।

नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको उल्लेख गर्दै उनले विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीच सहकार्य सौहार्दपूर्ण रहेको बताए । उनले अन्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भवन निर्माणका लागि डिपिआर तयार भएको बताउँदै निर्माण प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिए ।

उपमहानगरले नेपालगन्ज–४ स्थित साढे चार बिघा क्षेत्रफलमा अत्याधुनिक बसपार्क निर्माण, नेपालगन्ज–२ न्यूरोडस्थित आठ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक बहुउद्देश्यीय सात तले भवन तथा नेपालगन्ज–८ स्थित मङ्गल प्रसाद मावि परिसरमा महिला कलेजका लागि भवन निर्माण लगायत योजनालाई प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाले महिला कलेजका लागि रु आठ करोड बजेट विनियोजन गर्नुका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी काम अगाडि बढाएको छ । मुस्लिम, मधेसी र अल्पसङ्ख्यक समुदायका छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन महिला कलेज स्थापना गर्न लागिएको हो ।

उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरेको ल्याण्ड फिल्ड साइट पनि सञ्चालनमा गर्ने तयारी छ । नेपालगन्जमा दैनिक २५ देखि ३० टनसम्म फोहर विसर्जन हुन्छ ।

यस्तै उपमहानगरले वडा नं २१ मा खुला काञ्जी हाउस निर्माण गरेर डेढ सयभन्दा बढी छाडा पशु चौपायालाई आश्रय दिएको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरप्रमुख विष्टले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १०:३४