सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरको शान्ति सुरक्षा फितलो

कोहलपुरमा घर मालिकलाई थुनेर लाखौं लुटपाट, प्रहरीकै मिलेमतोको आशंका

बुधबार राती कोहलपुरमा हतियारधारी समुह प्रवेश गरी लाखौं लुटपाट हुँदा प्रहरीले सुइँको पाउन सकेन ।

प्रहरीको कमाण्ड फितलो भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर मातहत रहेको क्षेत्र असुरक्षित भएको छ । पछिल्लो समय कोहलपुर क्षेत्रमा हत्या, चोरी र लुटपाटका घटना वृद्धि भइरहेका छन् ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका ऐनबहादुर मल्लले कोहलपुर क्षेत्रको शान्ति सुरक्षालाई चुस्त, व्यवस्थित र सुरक्षित बनाउन नसकेको नागरिकहरु बताउँछन् ।

पहुँच र पावरका भरमा सिनियर डिएसपीलाई उछिनेर इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका डिएसपी मल्ल आएदेखि नै कोहलपुर असुरक्षित बन्दै गएको छ । डिएसपी मल्लमाथि कोहलपुर आएलगत्तै असुली धन्दा चलाउने आरोप लाग्ने गरेको छ ।

लागुऔषध कारोवारीसँग सेटिङ्ग नमिलेपछि पक्राउ गर्ने र नत्र असुली धन्दा चलाउने गरेको आरोप डिएसपी मल्लमाथि लाग्दै आएको छ । बुधबार राती कोहलपुरमा हतियारधारी समुह प्रवेश गरी लाखौं लुटपाट हुँदा प्रहरीले सुइँको पाउन सकेन ।

आफ्नो सुरक्षा क्षेत्रमा हतियारधारी समुहले लुटपाट गर्दा पनि प्रहरीले सुइँको नपाउनुमा मल्लकै सेटिङ्ग रहेको स्थानीयको आशंका छ । ‘हामीलाई प्रहरीकै मिलेमतो रहेको शंका छ, नत्र हतियारधारी समुहबारे प्रहरी किन बेखबर भयो ?,’ एक जना स्थानीयले भनेका छन् ।

बन्दुकधारीको एक समूहले बुधबार राती कोहलपुर–८ का एक स्थानीयको घरमा लुटपाट गरेको छ । बुधबार मध्यरातमा उक्त समूहले विरेन्द्रजंग शाहीको घरमा १० तोला सुन र दुई लाख रुपैयाँ रुपैयाँ लुटपाट भएको छ ।

लुटपाटबारे प्रहरीलाई जानकारी गराउन खोज्दा उक्त समूहले मोबाइल पनि लुटेर लगेको पीडितले जनाएका छन् । रातीको समयमा ढोका खोल्न लगाएर लुटेरा समुहले शाहीको घरमा लुटपाट गरी घरमा थुनेर भागेको थियो ।

सुन लुट्ने गिरोह लामो समयदेखि बाँके र बर्दियामा सक्रिय छ । बाँकेको खजुरा, बर्दियाको कालिका, कतर्निया लगायतका बजारमा सुन लुटपाट गरिसकेको छ । उक्त गिरोहले रातीका समयमा ढोका खोल्न लगाएर लुटपाट गर्ने र थुनेर भाग्ने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०९:१२