सूचनाको शक्ति - The Power Of Information

        

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । असारयता डेंगी तीव्र रूपमा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांका अनुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा ५ हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५ हजार १०४ र भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार ९४८ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ८२९ जनामा संक्रमण देखिएको छ । दाङमा १ हजार १८०, रुपन्देहीमा ६७९, चितवनमा ४५१, धादिङमा ३९९, गुल्मीमा २९२ र कैलालीमा २०२ जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

चिकित्सकको सल्लाह बिना औषधि खान नहुने विज्ञहरू बताउँछन् । “कतिपय अवस्थामा डेंगी परीक्षण गराउने र चिकित्सकको सिफारिस बिना औषधि खाने गर्नाले बिरामी सिकिस्त भएका घटना पनि छन् ।

त्यसैले यदि आफूलाई गाह्रो हुने खालका लक्षण देखिए तुरुन्तै अस्पताल आउन र परामर्श लिन बिरामीलाई अनुरोध छ,” कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँले भने ।

डेंगी संक्रमितमा हुने शरीरको दुखाई कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रक्तस्राव भई बिरामीको मृत्यु समेत हुन सक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुझाव दिन्छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु जरुरी हुने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १९:०३