सूचनाको शक्ति - The Power Of Information

        

मर्गौलाका बिरामीलाई सकस

भेरी अस्पतालमा डायलासिस मेसिन अभाव, पालो पर्खंदै बिरामी

पछिल्लो समय भेरीमा बिरामीको चाप बढ्दै जाँदा स्थान अभावका कारण उपचारमा समस्या भएको छ ।

फाइल तस्वीर

पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेसिनको अभाव देखिएको छ । डायलासिस मेसिनको अभावले ५३ जना मिर्गाैलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् ।

अस्पतालमा रहेका चार वटा मेसिनमध्ये एउटालाई आपतकालीन अवस्थाका लागि छुट्याएर तीन वटा मात्रै नियमित सञ्चालनमा रहेकाले मिर्गौलामा समस्या भएर डायलासिसका लागि बिरामीले पालो कुर्नुपरेको हो । हाल सो अस्पतालमा तीन सिफ्टमा दैनिक नौ जनाले डायलासिस गराइरहेका छन् ।

३६ जना बिरामीले नियमित डायलासिस गराउने अवसर पाएको भेरी अस्पतालको डायलासिस विभागका प्रमुख डा.पारस श्रेष्ठले बताए । उनले पछिल्लो समयमा मिर्गाैला बिग्रेका धेरै बिरामी अस्पतालमा आउन थाले पनि तीन वटा मेसिनबाट मात्र सो सेवा दिन सकिएकाले अधिकांश सेवाबाट वञ्चित भएको बताए ।

भेरी अस्पतालबाहेक सो सेवा लाइफलाइन अस्पताल र नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पनि छ । तर, निजीमा धेरै महँगो भएकाले विपन्नलाई पालो कुर्नेबाहेक अर्को विकल्प छैन । पछिल्लो समय भेरीमा बिरामीको चाप बढ्दै जाँदा स्थान अभावका कारण उपचारमा समस्या उत्पन्न भएको छ ।

डायलासिसका लागि आउने बिरामीको चाप बढेपछि उपचारमा समस्या भएको बताउँदै डायलासिस विभागका प्रमुख डा.श्रेष्ठले भने, ‘अहिले हामीसँग भएका सबै बेडहरु भरिभराउ छन्, दैनिक बिरामी थपिइरहेका छन्, सेवा प्रवाहमा समस्या भएको छ । थप मेसिन नभएसम्म उपचारमा कठिनाई रहरिहन्छ ।’

मृगौलाको सामान्यदेखि दुबै मृगौला फेल भएका बिरामीलाई कम्तीमा एक पटकमा ४ देखि ८ घन्टासम्म डायलासिस गर्नुपर्ने भए पनि बिरामीको चाप बढेपछि सेवा प्रवाहमा समस्या भएको चिकित्सकको भनाइ छ । डायलासिस मेसिनको अभावले बिरामीलाई सेवा प्रबाह गर्न असुविधा भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ०९:५०