सूचनाको शक्ति - The Power Of Information

        

बाँके ट्राफिकले चाडपर्वलाई लक्षित गर्दै बिशेष चेकजाँच गर्ने

बाँके ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारीसाधनलाई बिशेष  चेकजाँच गर्ने भएको छ ।

दुर्घटना नहोस् भन्ने सोचका साथ बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता लगायतका कुरामा जाँच गर्दै आइरहेको अवस्थामा आउँदै गरेको चाडपर्वमा लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारीसाधनलाई बिशेष  चेकजाँच गर्ने भएको हो ।

बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले चाडपर्वको समयमा सवारी साधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न बाँकेका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीको विशेष ‘चेकिङ’ गर्न लागिएको बताए ।

ट्राफिक प्रहरी प्रमुख शाहले बाँकेको पुर्वमा कुसुम, पश्चिममा मानखोला, उत्तरमा चिसापानी दक्षिणमा नेपालगन्ज, राँझा चोक र कोहलपुरको चपरगौडी लगायतका स्थानहरुमा लामो दूरीका सवारी साधनलाई विशेष चेकजाँचको व्यवस्था गरिरहेको जानकारी दिएका छन् ।

बाँके ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा जिल्लाका धेरैजसो  स्थानमा  नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमता भन्दा बढी यात्रु राख्न नदिने, सवारी साधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने बताएको छ ।

बाँके ट्राफिकले लामो दुरीका सवारी साधनलाई मात्रै नभई छोटो दुरीका सवारी साधनलाई समेत जाँच गर्ने भएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न समेत दैनिक रुपमा मापसे जाँच लगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको छ ।

यसका साथै बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना र तिब्र स्पिड कंट्रोल गर्न जिल्लाका चेकजाँच हुने स्थानहरुमा  रोड ब्यारीकेडर राख्ने भएको छ ।

त्यस्तै ट्राफिक प्रमुख शाहले दुर्घटना न्यूनिकरण गर्न जिल्लाका सम्बन्धित सरोकारवालाहरुले पनि ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १८:४६