सूचनाको शक्ति - The Power Of Information

        

भोकमरीको अवस्था

बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव

राहत माग्न आउनेको सङ्ख्या बढ्दै

धान खेतीको समयमा वर्षा नहुँदा रोपाइँ हुन नसकेको बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव हुन थालेको छ ।

स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको सो गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न अभाव भएको भन्दै राहत माग्न आउनेको सङ्ख्या बढ्दै गएको सो गाउँपालिकाले जनाएको छ ।

तत्काल राहतका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिए पनि अझै कुनै निर्णय नभएकाले भोकमरीको अवस्था सुरु हुन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि सर्वसाधारण राहत माग्न गाउँपालिका आउने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

केन्द्र र प्रदेश सरकारले तत्काल केही नगरे अवस्था निकै जटिल र गम्भीर बन्न सक्ने चेतावनी पनि नरैनापुर गाउँपालिकाले दिएको छ ।

नरैनापुर–६, गङ्गापुरका कृष्णावती मौर्यले घरमा भएको अनाज सबै सकिएको जनाउँदै भोकै बस्नुपर्ने अवस्था आएकाले राहत माग्न गाउँपालिकामा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ । सहयोग नपाए बालबच्चा भोकै बस्नुपर्छ ।” नरैनापुर–४ कै रीता कलवारको पनि उस्तै दुखेसो छ ।

उहाँको करिब छ कट्ठा जमिन यस वर्ष बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको करिब १५ प्रतिशतमा मात्र रोपाइँ भएको थियो, पानी नपरेपछि त्यो पनि नष्ट भएको छ ।

गाउँपालिकाले नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र सङ्घीय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा तीन÷तीनवटाका दरले डिप बोरिङको व्यवस्था गर्न माग गरेको थियो ।

यहाँको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले स्थलगत निरीक्षण गर्नुभएको थियो तर पनि अझैसम्म कुनै सहयोग नपाएको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ०७:५६