लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाहरुमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा ‘आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भूमिका’ विषयमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा भएका आत्महत्या घटना सार्वजनिक गरिएको हो ।
प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ४१ जना गरी कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्य सबैभन्दा धेरै रुपन्देही जिल्ला र पूर्वी रुकुममा रहेका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा मात्रै २ सय ६७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी दाङमा २ सय १४ जना, कपिलवस्तुमा १ सय ६६ जना, बर्दियामा १ सय ६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन् ।
दाङमा ७ सय बढी आत्महत्या
यसैबीच प्रहरी प्रमुख वलीका अनुसार दाङमा आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७/०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८/०७९ मा २ सय १४ जना तथा चालू आर्थिक वर्ष २०७९/०८० को हालसम्म ३६ जना गरी जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर सवैभन्दा धेरै ५ सय १९ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगरी विष सेवन गरी १ सय ४७ जना, हाम फालेर ९ जना र आगो लगाएर एक जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका दश पालिकाहरु मध्य सवैभन्दा धेरै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका र कम राजपुर गाउँपालिकामा हुने गरेका छन् । मानसिक तनाव, प्रेममा धोका, पारिवारीक कलह, गरिवी, शारिरीक यातनासँगै आवेशमा अधिकांसले आत्महत्या गर्ने गरेका प्रहरी प्रमुख वलीले बताए । ‘आत्महत्याका विभिन्न कारणहरु देखिन्छन्’,प्रहरी प्रमुख वलीले भने,‘जस मध्य अधिकांसले आवेशमा आएर आत्महत्या गरेको देखिन्छन । त्यसका साथै पारिवारिक कलह,मानसिक तनाव, दिर्घ रोगी तथा आर्थिक लेनदेनका कारण पनि देखिन्छ ।’
साथै देखासिकीले महत्वाकांक्षा बढेको, व्यवसायीहरु आर्थिक संकटमा फसेका, बैंकको बढ्दो व्याजदरले व्यवसायबाट पलायन भएर आत्महत्यासम्म पुग्ने गरेको पनि केही घट्ना देखिने गरेको उनले बताए । आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको बताएका छन् । प्रहरी अध्ययनका अनुसार १३ प्रतिशत भन्दामाथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला धेरै रहेका छन् ।
कालपृष्ठ दैनिकबाट
सत्यपाटी । बाँके ।