सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा सप्तमीको दिन दशैं महोत्सव हुने

हिन्दु नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर बाँकेको खजुरामा दशैं महोत्सवको आयोजना गरिने भएको छ ।

स्थानीय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ को सोमवार सचिवालयको उद्घाटन गरिएको छ ।

आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उदघाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्णबहादुर भण्डारीले गरे ।

उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समुहले एकजुट भएर सामाजिक कार्यहरु सहित दशैको बेला सद्भाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

आफ्नो परम्परा, रिति थिति जोगाउन युवाहरु लागेको प्रति खुशि व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको समुहले विगतका वर्षहरुमा सामाजिक कार्य सगैं विभिन्न पर्वहरुलाई हर्षोल्लासका साथ मनाउन निरन्तर रुपमा सास्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको युवा समुहले यसपटक दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सास्कृतिक कार्यक्रम, स्थानीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

आदर्श युवा समुहले खजुरामा एक किसिमको छुट्टै छाप बसाल्न सफल भएको भन्दै युवा नेता तिलकविर सुनारले युवाको अग्रसरतालाई सबैले साथ दिन आवश्यक रहेको बताए ।

आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले महोत्सवले खजुराको पहिचानलाई थप चिनाउन मदत गर्नेमा विश्वास व्यक्त गरे । अरुणोदय माविका प्रधानाध्यापक रिषिकेश जिसीले महोत्सवमा रमाउने मात्र नभएर सामाजिक कार्यप्रतिको क्रियासिलताले थप रौनकता थप्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १८:३५