सूचनाको शक्ति - The Power Of Information

        

संविधान दिवसमा बाँकेका १७ कैदीबन्दीले पाए आममाफी

संबिधान दिवसका अवसरमा बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनेक्रममा बाँके कारागारका १७ जना कैदीबन्दी परेको जेलर रामप्रसाद सोनकरले बताए ।

आममाफी पाउने कैदबन्दीहरु कर्तव्य ज्यान मुद्दा, चोरी र बहुविवाहमा दोषी ठहर भइ कैद भुक्तानी गरिरहेका थिए । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिपरिषद्को भदौ ३१ को निर्णयअनुसार संबिधान दिवसको दिनदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १८:२६