सीमापारिबाट हुँदै आएको तस्करी र अवैध आयात बढिरहेको छ । नाकामा खटिएको प्रहरी र जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरिरहेको बताए पनि तस्करी र अवैध आयात बढिरहेको छ ।
प्रहरीले निगरानीसँगै दैनिक सामान बरामद गर्दै आएको दावी गरे पनि नेपालगन्जको सीमा क्षेत्रबाट तस्करी रोकिएको छैन । केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ ।
नाकामा प्रहरीको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहे पनि ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको छ । प्रहरीले नेपालगन्ज, कोहलपुर र हात्तीसार लगायतका स्थानबाट अवैध सामान बरामद गर्दै आएको छ ।
जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैधरूपमा भित्रिएको धेरै सामान बरामद गरे पनि अधिकांश ठाउँमा तस्कर पक्राउ पर्न नसकेको जानकारी दिए । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी तस्कर र भरियाले प्रहरी देख्ने बित्तिकै सामान छोडेर भाग्ने गरेको बताउँछन् ।
केही दिनअघि ६० लाख बराबर भन्सार छलीको सामान बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । रत्न राजमार्गबाट सुर्खेत लैजान लागिएको अवस्थामा ट्रकलाई बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।
नाकामा दुवै प्रहरी फोर्सको उपस्थिति हुँदाहुँदै एकैपटक ठूलो परिणाममा अवैध सामान नेपाल आइरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ । यो विषयमा सुरक्षा निकायको नेतृत्वसँग गम्भीर छलफल चलिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिएका छन् ।
सत्यपाटी । बाँके ।