सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा समृद्धि

नरैनापुरमा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान (फोटो कथासहित)

१२ जना शिक्षक नियुक्त

गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउनका लागि बाँकेको नरैनापुर गाउँपालिकामा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु भएको छ ।

संविधान दिवसको पूर्व सन्ध्यामा आइतबार १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु गरेका हुन् ।

अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गरे ।

उनले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउँदै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना बनाएकोले शिक्षकहरुलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउदै नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताउँदै उनले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गरे ।

वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउँदै नरैनापुरको शिक्षालाई अझ उचाई पुर्याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरुसँग आग्रह गरेका थिए ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाको शिक्षा शाखा अधिकृत कृष्णप्रसाद थारुले गुणस्तरीय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताए । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको बताउँदै नवनियुक्त शिक्षकहरुलाई समेत शिक्षण पेशमा गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षता भएको नियुक्ति पत्र हस्तन्त्रण कार्यक्रममा शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षका स्वकीय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी लगायतको सहभागिता रहेको कार्यक्रममा १२ जना विषयगत शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार ०८:२९