नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्वसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् ।
सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् ।
नरैनापुर गाउँपालिका वडा नं.६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन् ।
‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’
गाउँपालिका कार्यालयमै पुगेर कृष्णावतीले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न ब्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् ।
कृष्णावती जस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ ।
घरमा राखिएको अनाज रित्तिएर भोकमरी सुरु भएपछि पालिकामा आउनुको विकल्प नभएको सुनाउँदै रिताले भनिन्, ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ ।’
नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको र सुख्खा खडेरीका कारण किसानका खेतबारी बाँझै रहेको गाउँपालिकाको तथ्यांक छ ।
गाउँपालिकाका अध्यक्ष शाहले खेती गर्न नपाएका किसानको घरमा भोकमरी सुरु भइसकेको बताउँदै भोकमरीबाट पीडित किसानहरु गाउँपालिका आउने गरेको उनले बताए ।
मेरो घरमै पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ गाउँपालिकाका अध्यक्ष शाहले भने ‘संघीय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद कुरा हो ।’
संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए ।
गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा तीन–तीन वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो ।
गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराएका थिए । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए ।
सत्यपाटी । बाँके ।