नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घका अनुसार आर्थिक बर्ष २०७८–०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको छ ।
नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा पानी बिक्री वितरण हुँदै आएको संघका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिएका छन् ।
उनका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् ।
खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क चाँडो घटाउन पनि माग गरेका छन् ।
संघका अध्यक्ष ध्रुवबहादुर गौतमले कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको बताए । उनले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गरे ।
अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको संघका अध्यक्ष गौतमको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरेका छन् ।
विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौँभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध रहेको नेपाल बोटल वाटर उद्योग सङ्घले जनाएको छ ।
सत्यपाटी । काठमाडौं ।