सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको लिमीमा हिमपात : कैलाशको दर्शन प्रभावित

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी लगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातिबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा शनिबार रातीबाट हिमपात भएको बताए । उनले शुक्रबार लाप्चा, न्यालु लगायतका उच्च स्थानमा हिमपात भएको भए पनि रातिबाट ताक्ची, तुम्लिङ र लिमीका तीन वटै गाउँमा हिमपात भएको बताए ।

लिमीका गाउँ हिमपातपछि सेताम्मे देखिन थालेका छन् । उनले लिमीको गाउँमा चार इन्ची हिउँ जमेको र अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताए । उनले चिसो भने निक्कै बढेको बताए । वर्षापछि हिउँ पर्न सुरु हुँदा पाक्नै लागेको बालीलाई समेत क्षति पुर्याएको उनले बताए ।

ताक्चीबाट लाप्चा गएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरू प्रभावित भएका छन् । त्यसैगरी, अग्ला पाटनमा पाल्दै आएका चौँरी लगायत पशुलाई समेत समस्या भएको छ । यो हिमपात उत्तरी हुम्लाका उच्च क्षेत्र सबैतिर परेको छ र सदरमुकाम सिमकोटका उच्च स्थानमा हिमपात भएको छ । यस वर्षको यो हिमपात पहिलो हो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १४:००