सूचनाको शक्ति - The Power Of Information

        

साइपालमा १० शैय्याको अस्पताल भवन शिलान्यास

बझाङको साइपाल गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ३ काँडाको लासीमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भवनको शिलान्यास गरेका छन् ।

जिल्लाको दुर्गम स्थानीय तहको रुपमा चिनिदै आएको साइपाल गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि पैदल हिँडेर अन्य अस्पताल पुग्न र उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष बोहराले बताए ।

गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले अस्पतालसँगै विकासको लहर सुरु भएको बताइन् । गाउँपालिकामा अस्पताल बनेपछि पालिकाबासी लाभान्वित हुने उपाध्यक्ष तामाङले बताइन् । अस्पतालमा जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसी, दाँत तथा आँखा उपचारमा आधारभूत तहको स्वास्थ्य सेवा प्रदान हुने गाउँपालिकाका इन्जिनियर तिलक विकले बताए ।

अस्पताल निर्माणमा १८ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । जसमा १० करोड ८३ लाख संघीय संरकारको बजेट रहेको छ भने बाँकी गाउँपालिकाकै रहेको छ । तीन वर्षभित्र सक्ने गरी गाउँपालिका र निर्माण कम्पनी जुगल टिडिआर जेभी कन्टक्सनबीच सम्झौता भएको छ । सोहि अनुरुप अस्पताल भवन निर्माणको काम थालिएको अध्यक्ष बोहराले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार १३:०८