सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाका राजापुर र ठाकुरबाबाका बस्ती डुबानमा

अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन् ।

जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए ।

नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन, नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको बास्तोलाले बताए । बर्दिया लगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ ।

बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ । ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा २६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १५:२१