सूचनाको शक्ति - The Power Of Information

        

व्यापारीको कब्जामा सार्वजनिक जग्गा, बसपार्क निर्माण अलपत्र

सल्यानको शारदा नगरपालिका–१, श्रीनगर बजारमा अत्याधुनिक सुविधासहितको बसपार्क बनाउने २०७६ सालदेखिको योजनाले अझै मूर्तरूप पाउन सकेको छैन । शारदा नगरपालिकाले सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको थियो ।

सल्यानको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित श्रीनगर बजारमा व्यवस्थित बसपार्क बनाउने शारदा नगरपालिकाको योजना कार्यान्वयन हुन नसकी योजनामै सीमित भएको छ ।

यसबाट जनघनत्व र सवारीसाधनको चाप बढ्दै गए पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढाएको जनगुनासो छ । पालिकाले बसपार्कका लागि ५९ करोड रुपियाँको डीपीआर पनि बनाइयो ।

बसपार्क निर्माणका लागि केही बजेटसमेत विनियोजन गरिएको छ । तर, दुई वर्ष बितिसक्दासमेत नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन सकेको छैन । व्यवस्थित बसपार्क नहुँदा बजारको सौन्दर्य हराउँदै गएको स्थानीय मोहन नेपालीले बताए ।

उनका अनुसार सार्वजनिक जग्गामा रहेको बसपार्कमा जथाभावी घरटहरा पनि निर्माण भइरहेको देखिएको छ । सार्वजनिक जग्गामा रहेको बसपार्क अव्यवस्थित छ । बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा मनपरी बस्ती पनि विस्तार भइरहेको देखिएको छ ।

नगरपालिकाले बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गर्दै १५ दिनभित्र त्यस क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सूचना जारी गरेको थियो ।

उक्त सूचनामा संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सूचना निकालेको थियो ।

बसपार्क आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा सार्वजनिक रहेको छ । तर, नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भइसक्दासमेत कामले पूर्णता पाउन सकेको छैन ।

नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको स्थानीयको गुनासो छ । स्थानीय व्यापारी पुष्कर बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाउने काम भइरहेको बताए ।

उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले स्थानीय सरकारले पहल नलिँदा बसपार्क निर्माण कार्य अहिलेसम्म अगाडि नबढेको बताए । बसपार्क व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँदै सार्वजनिक जग्गामा जथाभावी घरटहरा बनाउने काम तीव्र भएको उनको भनाइ छ ।

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले यसअघिको कार्यपालिका बैठकले बसपार्क बनाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको बताए । उनले श्रीनगरमा बसपार्क बनाउन सङ्घीय र प्रदेश सरकारसंँग आवश्यक प्रक्रिया र छलफल भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १२:१४