सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदी तटीय क्षेत्रमा बज्यो साइरन

राप्ती नदीमा जल सतह खतरामाथि, तटीय क्षेत्रमा ‘हाई अलर्ट’

राप्ती नदीको सतह बढेर ५ मिटर ७० सेन्टिमिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरूमा हाई अलर्ट जारी गरिएको छ ।

लगातारको वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतहले खतराको विन्दु पार गरिसकेकोले नदी तटीय क्षेत्रका बस्तीलाई सतर्क रहन आग्रह गरिएको हो ।

कुसुम क्षेत्रमा राप्ती नदीको जल सतह ५ मिटर ७० सेन्टिमिटर पार गरेकाले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

शनिबार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको उनले बताए । उनका अनुसार, बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिबार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो ।

नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ । सूचना अधिकृत ज्ञवालीले पानीको सतह खतराभन्दा माथि पुगेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताए ।

उनका अनुसार राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब ४ देखि ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने बित्तिकै खतरा स्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ ।

नदीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने सम्भावना बढेर जान्छ । राप्ती नदीको सतह बढेर ५ मिटर ७० सेन्टिमिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरूमा हाई अलर्ट जारी गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको बताए । आवश्यक परेमा हेलिकप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताए ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ११:०४