सूचनाको शक्ति - The Power Of Information

        

एक्सनमा उत्रियो निर्वाचन आयोग

मेयर हर्क र बालेनलाई तोकियो जरिवाना, नबुझाए पदमुक्त !

धरानका मेयर हर्क साम्पाङले भने, ‘जरिवाना तिर्न तयार छु, तर भ्रष्टाचारीको भुँडीमा नपरोस् ।’

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पाँच लाख ५० हजार जरिवाना तोकेको छ । आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार धरान र काठमाडौंका मेयरसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।

निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिवाना रकम तोकेको छ । मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने निर्वाचन आयोग ऐनमा व्यवस्था छ ।

खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार जरिवाना रकम ६ महिनाभित्र तिरिसक्नु पर्नेछ ।

६ महिनाभित्र जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आयोगले ऐन अनुसार खर्चको विवरण पेस नगर्ने देशभरका १ लाख २३ हजार ६२४ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हममध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तर्न सक्ने प्रावधान छ ।

आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको छ ।

ऐनमा भनिएको छ, ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ ।’

आयोगको निर्णपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन् ।

मेयर साम्पाङले आयोगले तोकेको पाँच लाख ५० हजार जरिवाना तिर्न रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन् । ‘पाँच् लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्,’, उनले लेखेका छन्, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई !’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ०९:३९