सूचनाको शक्ति - The Power Of Information

        

पहिरोमा परी अछाममा चार जनाको मृत्यु, १२ बेपत्ता

लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चार जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता छन् ।

जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी चारभन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको चार वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए ।

यहाँ अन्य तीन जना बेपत्ता छन् भने सात जनालाई जीवितै उद्धार गरिएको छ । तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको डिएसपी डाँगीले बताए ।

अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले क्षति पुगेको छ । तीनै स्थानीय तहको घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ०९:१४