सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका अधिकांस खानेपानी आयोजना अधुरा

बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो रहेको पाइएको छ ।

निर्माणाधिन आयोजना मध्ये ४/५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

सञ्चारकर्मीसँग बिहीबार अन्तरक्रिया गर्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख तिलक न्यौपानेले यसवर्षको अन्तिमसम्म कम्तिमा ८/१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम गरिरहेको बताए । उपभोक्ताको मागको आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरु थपिँदा समस्या भएको सुनाए ।

 धेरै वर्षदेखि खानेपानीमा काम गरेपनि बाँकेमा थुप्रै चुनौतीहरु रहेकाले यी आयोजनाहरुले पूर्णता पाउन नसकेको उनले बताए । न्यौपानेले भने, ‘वर्षेनी बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनमा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ, यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पुर्याउने लक्ष्य पुरा हुन गाह्रो छ ।’

आफूहरुले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाए । योजनाको संख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए ।

उनका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधिन रहेको छ ।

जिल्लामा १५ प्रतिशत घरधुरीले पाईप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका अनुसार, जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् ।

बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्याण्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन् ।

सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पुर्याउने दीगो विकास लक्ष्य राखिएको छ । बाँकेमा त्यो लक्ष्य समयमा पूरा हुनेमा आशंका बढेको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जले जिल्लामा ७५ वटा खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ ।

गत वर्ष खानेपानीमा २४ करोड खर्च भयो । योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तीले समयमा काम हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १९:४१